धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सद्धिकरण गर्न आन्दोलनरत संयुक्त संघर्ष समितिले धरानका वडाअध्यक्षहरुसँग छलफल गर्ने भएको छ ।
प्रतिष्ठानमा विगत चार हप्तादेखि जारी आन्दोलनबारे वडा अध्यक्षहरुको धारणा बुझ्न तथा समर्थन जुटाउनको लागि संघर्ष समितिले छलफल गर्न लागेको हो । आज दिउँसो २ बजे प्रतिष्ठानस्थित अडोटोरियम हलमा वडाअध्यक्षहरुसँग छलफल राखिएको जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा.पदम नेपालीले जानकारी दिए । ‘सबै वडाअध्यक्षहरुलाई बोलाएका छौं, १५ जना अध्यक्षहरुलाई त भेटेर नै पत्र दिएका छौं,’उनले भने ।
प्रतिष्ठानमा जारी आन्दोलनको लक्ष्य संस्था सुधार भएर यहाँको सेवा गुणस्तरीय हुनुपर्छ भन्ने रहेकोले आम धरानबासीहरुको पनि सरोकार हुनुपर्ने डा.नेपालीले बताए । त्यसैले जनप्रतिनिधि वडाअध्यक्षहरुसँग छलफल कार्यक्रम राखिएको उनको भनाई छ । ‘वीपी राम्रो हुँदा र नराम्रो हुँदा प्रत्यक्ष प्रभाव पर्ने यहाँको जनता नै हुन्, त्यसैले वडाअध्यक्षहरुको यो आनदोलनप्रतिको धारणा के छ ? यसलाई कसरी सुधार गर्नुपर्छ भन्ने छ ? त्यो बुझ्नको लागि र उहाँहरुबाट पनि हाम्रो आन्दोलनमा ऐक्यवद्धता आयो भने थप वल पुग्छ भनेर हो,’डा.नेपालीले भने ।