धरान: गएको असार २७ गते बिहान फुटबल स्टार लियोनल मेस्सी र अर्जेन्टिनाको लागि बिशेष खुशीको क्षण थियो । मेस्सी नेतृत्वको अर्जेन्टिनाले दक्षिण अमेरिकी मुलुक महादेशीय फुटवल प्रतियोगिता (कोपा अमेरिका)को उपाधि जितेको थियो । 

अर्जेन्टिनाको जर्सीबाट मेस्सीले पहिलो ठुलो उपाधि जितेका थिए भने अर्जेन्टिनाले करिब २८ बर्षपछि ठुलो उपाधि घर भित्र्याएको थियो । त्यसैले मेस्सी र अर्जेन्टिनाका फ्यानहरुको लागि यो उपाधिले निक्कै ठुलो महत्व राख्छ । मेस्सी र अर्जेन्टिनाको यो सफलता उनीहरुमा मात्र सिमित छैन । विश्वभरका मेस्सीका प्रसंशकहरु पनि उनको सफलता र खुशीमा रमाएका छन् ।

binod

तिनै मध्ये एक हुन्, हाल हङकङमा रहेका धरान १७ निवासी विनोद राई । उनी पनि मेस्सी र अर्जेन्टिनाका फ्यान हुन् । कोपा अमेरिकाको उपाधि मेस्सी र अर्जेन्टिनाले जित्दा उनी खुशी मात्र भएनन्, त्यो खुशी बाँड्न आफ्नो गृह नगरका फुटबल खेलाडीहरुलाई सहयोग पनि पठाए । हङकङमा रहेका राईले धरान महिला फुटवल क्लबलाई १० वटा फुटवल र जुनियर खेलाडीहरुलाई थप २ वटा गरि एक दर्जन फुटबल सहयोग गरेका छन् । उनले सहयोग पठाएको फुटबल मंगलबार धरान १७ नमस्ते चोकस्थित खेल मैदानमा धरानको महिला फुटल खेलाडी र जुनियर खेलाडीहरुलाई हस्तान्तरण गरिएको थियो ।

football messi fan

फुटबल हस्तान्तरणको लागि समन्वयकर्ता गोधुली फुटबल क्लबका उपाध्यक्ष सतिस केसीका अनुसार कोपा अमेरिका मेस्सी र अर्जेन्टिनाले जितेको खुशीयालीमा हङकङबाट राईले १८ हजार रुपैया बराबरको फुटबल सहयोग गरेका हुन् । फुटबल हस्तान्तरण गर्न पनि दाताले भने वमोजिम नै मेस्सी र अर्जेन्टिनाका फ्यानहरु पवन दाहाल, पदम राई र मिलन राईबाट गरिएको समन्वयकर्ता केसीले जानकारी दिए । ‘विनोद दाई मेस्सी र अर्जेन्टिनाको डाइ हार्ट फ्यान हुनुहुन्छ, त्यसैले कोपा अमेरिका जितेकोले खुशीयाली बाँड्न धरानको महिला फुटबल टिमलाइ १० वटा र जुनियर खेलाडीहरुलाई २ वटा फुटबल सहयोग गर्नुभएको हो,’केसीले भने ।