धरान: आजदेखि धरानसहित सुनसरी जिल्लाको सबै स्थानीय तहहरुमा कोरोना विरुद्धको खोप कार्यक्रम शुरु हुदैछ ।

सुनसरीमा आजदेखि पहिलो चरणमा चीनमा बनेको भेरो सेल खोप लगाइनेछ भने दोस्रो चरणमा अमेरिकामा बनेको जोन्सन खोप लगाईने भएको छ । धरान उपमहानगरपालिकाका अनुसार आज (साउन ११), १२ र १३ गते ५५ वर्ष वा सो भन्दा माथिको उमेर समुहका लागि भेरो सेल खोप लगाइनेछ भने साउन १४ र १५ गते जोन्सन खोप लगाइनेछ । धरानका १० हजार नागरिकलाई पुग्ने गरि दुवै खोप आएको छ । भेरो सेल २ मात्रा लगाएपछि डोज पुरा हुनेछ भने जोन्सन एक पटक मात्र लगाउनुपर्नेछ ।

उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानका ७ स्थानमा खोप केन्द्र तोकिएको छ । छाताचोकस्थित पुरानो अस्पताल भित्र रहेको धरान स्वास्थ्य चौकीमा वडा नं. १, २, ३, १०, १२ र १६ का नागरिकहरुको लागि खोप केन्द्र रहनेछ । साथै, त्यहाँ वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई भिसा र पासपोर्टको आधारमा खोप दिइने पनि उनले बताए । 

यस्तै, पाँचकन्या स्वास्थ्य चौकी ठिंगाबारीमा वडा नं.४, ५ र ६ का नागरिकहरुलाई खोप लगाउने व्यवस्था गरिएको छ भने विष्णुपादुका स्वास्थ्य चौकीमा वडा नं २० को लागि खोप केन्द्र तोकिएको छ । धरान ८ स्थित सभागृहमा वडा नं ७, ८ र ९ का बासिन्दाहरुको लागि खोप लगाउने व्यवस्था गरिएको छ । त्यहाँ यसबाहेक सार्वजनिक यातायातका चालक, सहचालक, विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र शिक्षाका कर्मचारीहरुलाई पनि खोप लगाइने मेहताले जानकारी दिए । 

swasthya

यसैगरि, वडा नं. १३ स्थित आधारभुत स्वास्थ्य केन्द्रमा वडा नं ४, १३ र १४ नागरिकहरुलाई खोप लगाउने व्यवस्था गरिएको छ । सोही स्थानमा यसअघि खोप लगाउन छुटेका सञ्चारकर्मी तथा पत्रकारहरुलाई खोप लगाउने व्यवस्था गरिएको छ । अर्को खोप केन्द्र रहने धरान १५ स्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा वडा नं. ६ र १५ का नागरिकहरुको लागि व्यवस्था गरिएको छ । अर्को खोप केन्द्र धरान १८ स्थित कार्मेल हाईस्कुलमा रहनेछ । त्यहाँ वडा नं. ११, १७, १८ र १९ का नागरिकहरुलाई खोप लगाईने मेहताले जानकारी दिए।

प्रत्येक खोप केन्द्रमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म खोप लगाईने छ । भेरो सेल ५० बर्ष उमेर माथिकालाई दिइनेछ भने जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समुहकालाई दिइनेछ । यस्तै, जोन्सन खोप पुर्ण र अतिअशक्त अपाङ्गता भएका, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई पनि दिइने स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।