विराटनगर: प्रदेश नं १ को नामाकरणको लागि मुख्यमन्त्री शेरधन राईले छलफल शुरु गरेका छन् । 

प्रदेश नं १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामाकरणको विषयमा परामर्श शुरु गरेका हुन् । मुख्यमन्त्री राईले चालु अधिवेशनबाटै प्रदेशको नाम राख्ने बताउदै आएका छन् । अहिलेसम्म प्रदेश नं १ र २ ले नाम पाउन सकेको छैन । प्रदेशको नामाकरण गर्न नसकेको भन्दै विपक्षी पार्टीले मुख्यमन्त्री राईको आलोचना गर्दै आएको छ । यद्यपी उनले नामाकरणको बिषय प्रदेश सभाको क्षेत्राधिकार रहेको र सहमतिबाट नाम राख्न आफुले सहजीकरण मात्र गर्ने बताउदै आएका छन् । 

नामाकरणको बिषयमा आलोचना हुदै गएपछि मुख्यमन्त्री राईले छिनोफानोको लागि पहलकदमी थालेका हुन् । मुख्यमन्त्री राईले दलका नेताहरुसँग प्रदेशको नामका लागि सहमति गरेर अगाडि बढ्नु पर्ने भन्दै छलफललाई तिब्रता दिएको मुख्यमन्त्री राईको सचिवालयले जानकारी दिएको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलका नेताहरुसँग मुख्यमन्त्री राईले छलफल गरेको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिएका छन् । छलफलका क्रममा दलका नेताहरुले आ–आफ्नो पार्टीभित्र समान धारणा बनाएर अगाडि बढाउने बताएका छन् ।

प्रदेश १ मा नामाकरणको निक्कै पेचिलो बिषय बनेको छ । राजनीतिक दलहरुबीच पनि साझा धारणा बन्न सकेको छैन भने विभिन्न जातीय संघ संगठनहरुको पनि नामाकरणको बिषय आआफ्नै मुद्दा छ । प्रदेश १ लाई कसैले भुगोल, कसैले नदी, कसैले जातीय पहिचानको झल्कने गरि नामाकरण गर्नुपर्ने माग गर्दै आएका छन् । प्रदेश १ लाई किरात, लिम्बुवान, कोशी, सगरमाथा, किरात लिम्बुवान, किरात लिम्बुवान सगरमाथा, कोशी किरात, कोशी किरात लिम्बुवान लगायतको नामाकरण गर्नुपर्ने भन्दै बहस, छलफल भइरहेको छ।