धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पदाधिकारी र कर्मचारीको मिलेमतोमा मेशीन उपकरण बिगार्ने गरिएको सरकारद्धारा गठित छानबिन कार्यदलले औल्याएको छ । 

वीपी प्रतिष्ठानको समस्या पहिचान तथा छानबिन कार्यदलले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा पदाधिकारी र सम्बन्धित कर्मचारीको मिलेमतोमा मेशीन उपकरण बिगार्ने गरिएको उल्लेख छ । साथै, प्रयोगशालामा आवश्यक रिएजेन्ट नराख्ने जस्ता कृत्रिम अभावको प्रणाली नै प्रतिष्ठानमा विकास गरिएको पनि उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । 

प्रतिवेदनमा भनिएको छ, ‘परिक्षणका लागि पर्याप्त सुविधा नहुँदा अन्य अस्पताल रेफर गर्ने प्रचलन व्याप्त रहेको, पदाधिकारी र सम्बन्ध्ति कर्मचारीको मिलेमतोमा मेशिन उपकरण बिगार्ने र प्रयोगशालामा आवश्यक रिएजेन्ट नराख्ने जस्ता कृत्रिम अभावको प्रणाली विकास गरिएको ।’

कार्यदलले प्रतिष्ठानले आफ्नै सिटी स्क्यान मेशिन प्रयोग नगरि हटाएर निजी क्षेत्रको मेशिनबाट सेवा सञ्चालन गरेको पनि औल्याएको छ । आफ्नो सिटी मेशिन हटाएर सार्वजनिक निजी साझेदारी भनेर सन् २०११ देखि निजी क्षेत्रको मेशिनबाट सेवा सञ्चालन गरेको उल्लेख छ । यसको लागि प्रतिष्ठानले निजी क्षेत्रलाई सबै सुविधा उपलब्ध गराउदा पनि व्यापारीले सिटी स्क्यानको शुल्कबाट प्रतिष्ठानलाई मात्र ३५ प्रतिशत उपलब्ध गराउने सम्झौता भएको पाइएको प्रतिवेदनमा उल्लेख छ । शुल्कको ६५ प्रतिशत हिस्सा भने व्यापारीले नै लैजाने गरेको छ ।

यस्तै, नेपाल सरकारबाट विरामीलाई घरमै डाइलाइसिस गर्न मिल्ने गरि आवश्यक पर्ने क्याप्ड फ्लुड उपलब्ध गराउने व्यवस्था गरेको भएपनि प्रतिष्ठानले भने त्यस्तो उपचार सागम्री उपलब्ध नगराई सरकारबाट भुक्तानी लिइसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ । अक्सिजन प्लान्टको क्षमता अस्पतालको लागि पर्याप्त भनिए पनि कमजोर गुणस्तरको कारण कोभिडको धेरै विरामीले ज्यान गुमाउनु परेको कार्यदलको प्रतिवेदनमा उल्लेख छ । अक्सिजन प्लान्ट पुर्णक्षमतामा नचलाएर बजारबाट अक्सिजन सिलिण्डर खरिद गरि उपचारमा प्रयोग गर्ने गरिएको प्रतिवेदनमा भनिएको छ । 

यस्तै, मेडिकल स्टोरको अडिट नभएको र तथ्यांक पनि नमिलेको, मिलेमतोमा स्टोर दाखिला हुने गरेको, स्टोरले सप्लायरको मिलेमतोमा म्याद गुज्रिनुअघि सामान फिर्ता गर्नुपर्नेमा सो गर्ने नगरेको, खर्च भएर जाने सामग्रीको मौज्दात सकिनु अगावै समयमा खरिद शाखालाई जानकारी गराउने नगरिएको पनि कार्यदल प्रतिवेदनले औल्याएको छ । अस्पताल फार्मेसी पुर्ण क्षमतामा नचलेको र त्यहाँ मिति नाघेका करोडौ औषधी थन्क्याएर राखिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

लण्ड्री सेवाका लागि आवश्यक उपकरण बिग्रेको धेरै समय भइसक्दा पनि मर्मत नगरी राखिएको कार्यदलले जनाएको छ । प्रतिष्ठान हाताभित्र किड जि नामक स्कुललाई करोडौंको जग्गा र भवन तथा आवास समेत मासिक १४ हजार रुपैया भाडा लिन गरि विना प्रतिस्पर्धा उपलब्ध गराइएको पनि प्रतिवेदनले औल्याएको छ ।