धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न उपकरण तथा औषधीजन्य खरिदमा ठुलो अनियमितता भएको समस्या पहिचान तथा छानबिन कार्यदलले प्रतिवेदनमा औल्याएको छ ।

कार्यदलको प्रतिवेदनमा खरिद प्रक्रिया सम्बन्धमा सिटि स्क्यान र एमआरआई मेशिन, एचडियु तथा फार्मेसी सम्बन्धी खरिदमा ठुलो अनियमितता भएको ठहर गरिएको छ । एमआरआई मेशिनको अभावमा निर्माण भइसकेको भवन पनि प्रयोगविहिन अवस्थामा रहेको कार्यदलको प्रतिवेदनमा उल्लेख छ । 

यसैगरि, उपचारसँग सम्बन्धित अम्बु मास्क बजार मुल्यभन्दा दशौं गुणा महंगोमा खरिद गरिएको र प्रश्न उठाउदा सम्बन्धीत विभागमा ती सामग्रीको आपूर्ति नै रोकिने गरेको प्रतिवेदनमा उल्लेख छ । कार्यदलले उदाहरणकोरुपमा तीस हजार पर्ने सामग्री सोझै खरिदको नाममा ५ लाख रुपैयासम्म खरिद गर्ने गरेको पाइएको जनाएको छ । ‘खरिद कार्यमा संलग्न कर्मचारी र व्यापारीको ठुलो र्याकेटले काम गरिरहेको’ कार्यदलको प्रतिवेदनमा भनिएको छ ।

कार्यदलले वीपी प्रतिष्ठानको आफ्नो खरिद नियमावलीसमेत नभएको भन्दै खरिद योजना तयार पार्ने पद्दती नभएको र नियम कानुन विपरीत खरिद हुने गरेको निष्कर्ष निकालेको छ । साथै, पदाधिकारीहरुबीचमा वैमनस्यता हुनुमा पनि खरिदकै बिषय मुख्य रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘पदाधिकारीहरुबीच वैमनस्यता हुनुमा खरिदकै बिषय मुख्य रहेको’ प्रतिवेदनमा भनिएको छ ।

कोभिड १९ मा एचडियु खरिदमा अनियमितता

कार्यदलले कोभिड अस्पतालमा एमडियु खरीदमा अनियमितता पुष्टि भएको जनाएको छ । कार्यदलले स्थलगतरुपमा गरेको कागजातको अध्ययनबाट पनि अनियमितता पुष्टि भएको जनाएको छ । एचडियु खरिदमा भएको अनियमितता अडियो सामग्री प्राप्त भएको र त्यसमा एउटै खरिदलाई टुक्र्याएर १२ वटासम्म प्याकेज बनाएर खरिद गरेर अनियमितता भएको कार्यदल प्रतिवेदनमा उल्लेख छ ।