धरान: धरानको मुख्य बजार क्षेत्र भानुचोक हुदै कोशी राजमार्ग गएको छ । यो सडक ६ लेनको अर्थात ५० मिटर मापदण्ड अनुसार विस्तार हुने चर्चा चलेको पनि धेरै भइसक्यो । 

यदि राजमार्गको मापदण्ड अनुसार ५० मिटर सडक र दुवैतर्फ ६/६ फिट सेटब्याक गरि कुल ६२ मिटर अर्थात २०५ फिट सडक विस्तार गर्ने हो भने धरानको बजार क्षेत्रका प्रायः सबै घरहरु भत्किन्छ, र धेरै सम्पत्ति नोक्सान हुन्छ । त्यसैले धरानको बजार क्षेत्रमा ८० फिट मात्र सडक चौडा गर्ने र राजमार्गलाई सेउती हुदै बाइपास गर्ने कुरा भएको पनि धेरै भइसक्यो । स्थानीय घरधनीहरुले दबाब दिएपछि बजार क्षेत्रको सडक अहिलेको भन्दा केही फराकिलो बनाउने तर राजमार्गलाई बाइपास गर्ने विकल्पमा कुरा हुन थालेको पनि बषौं बितिसकेको छ ।

dharan-road3

सडक विभागबाट सर्वे गर्न टोली पनि आएको थियो, तर रिपोर्ट के भयो भन्ने अहिलेसम्म सार्वजनिक भएको छैन । यही बेला अहिले रानी विराटनगर इटहरी धरान सडक आयोजनाले धरानको बजार क्षेत्रमा सडक केन्द्रदेखि दुवैतर्फ १५–१५ मिटर गरि ३० मिटर सडक खाली गराइदिन भन्दै धरान उपमहानगरपालिकालाई पत्राचार गरेको छ । ३० मिटर भनेको १०० फिट चौडाई हो र, यो भनेको चर्चामा रहेको ६ लेन सडकको आधा मात्र चौडाई भएको सडक हो । ६ लेन सडकको कुल चौडाई २०५ फिट हुन्छ । अहिले धरानको बजार क्षेत्रमा १५ मिटर अर्थात ५० फिट मात्र सडक छ । सडक योजनाको पत्र अनुसार कार्यान्वयन गर्ने हो भने थप १५ मिटर सडक खाली गराउनुपर्ने हुन्छ । यसले पनि बजार क्षेत्रका घर तथा व्यापारिक भवनहरुमा ठुलो क्षति हुन्छ ।

dharan-road6

धरानका ईञ्जिनियर एवं योनजा तथा इञ्जिनियरीङ महाशाखा प्रमुख सुरज श्रेष्ठ भविष्य २०५ फिट अर्थात ५० मिटर नै सडक विस्तार गर्ने हो कि होइन भनेर अहिल्यै टुंगो लगाउनुपर्ने बताउँछन् । सडक योजनाले अहिले ३० मिटर विस्तार गर्ने भनेर पत्राचार गरेको तर भविष्यमा मापदण्ड अनुसार नै विस्तार हुने हो भने फेरि पछि पनि भत्काउनुपर्ने हुन्छ । ‘त्यसैले अहिल्यै टुंगो लगाइहाल्नुपर्छ । यो सडक कति मापदण्ड कायम गर्ने हो, त्यो निश्चित गरेर मात्र अघि बढ्नुपर्छ,’उनले भने ।

८० फिट कायम गराउन धरानको टोली काठमाण्डौंमा

सडक योजनाले ३० मिटर अर्थात १०० फिटको सडक विस्तार गर्ने भन्दै धरान उपमहानगरपालिकालाई पत्राचार गरेपछि मापदण्ड घटाउनको लागि मेयर तिलक राईको नेतृत्वमा विभिन्न राजनीतिक दलका नेताहरु अहिले काठमाण्डौं गएका छन् । उनीहरुले धरानका अन्य एजेण्डाहरुसँगै कोशी राजमार्ग धरानको बजार क्षेत्रमा ८० फिट कायम गराउन सरोकारवाला मन्त्रालय र नेताहरुसँगको भेटमा आग्रह गरिरहेका छन् ।

deligation

मेयर राई सकड विस्तार गर्नु राम्रो भएपनि धेरै क्षति पुग्ने भएकोले उचित विकल्प खोजिनुपर्ने बताउँछन् । विगतमा राजमार्ग वाइपासको कुरा भएको भन्दै सरकार र नेताहरुसँग पनि धरानमा क्षति कम गराउन आवश्यक पहल भइरहेको बताए । उनले धरान फर्के पछि पुनः वडाबासी र सरोकारवालाहरुसँग छलफल गर्ने बताए । धराने डेलिगेशन टोली काठमाण्डौं जानुअघि राजनीतिक दलहरुसँग उपमहानगरले छलफल गरेको थियो । उक्त छलफलमा पनि ८० फिट मापदण्ड कायम गराउन पहल गर्ने समझदारी भएको थियो । 

बाइपास अवधारणा सेलायो

dharan-road4

बजार क्षेत्रमा धेरै ठुलो भौतिक क्षति हुने भएपछि अहिलेको भन्दा सडक केही विस्तार गर्ने र कोशी राजमार्गलाई वाइपास गर्नुपर्ने भन्दै केही बर्षअघि चर्को बहस भएको थियो । सडकमा पर्ने बजार क्षेत्रका घरधनीहरुले समिति नै बनाएका थिए । यो बिषयमा पटक पटक छलफल भएर वाइपास गर्न सडक विभागले सेउती खोला क्षेत्रमा प्रारम्भिक सर्वे पनि गरेको थियो । 

अहिले भने बाइपास अवधारणा सेलाएको छ । सेउती किनारबाट वाइपास गर्ने प्रस्ताव पनि सहज भने छैन । त्यहाँ सुकुम्बासी बस्ती बाक्लोरुपमा बसिसकेको हुनाले ती बस्तीलाई कहाँ स्थानान्तरण गर्ने भन्ने प्रष्ट भइसकेको छैन । सर्वे टोली आएको बेला सुकुम्बासी बस्ती उठिबास हुने त्रासले सुकुम्बासीहरुले विरोध गरेका थिए । सर्वे के भयो भन्नेबारे उपमहानगरपालिका आफै पनि अनभिज्ञ छ । उपमहानगरका ईञ्जिनियर श्रेष्ठ वाइपास गराउन राजनीतिक दलहरुबीच एकजुट हुनुपर्ने बताउँछन् । उनी भन्छन्, 'त्यो बाइपास सडक पनि २ लेनको मात्र सर्वे भएको थियो । अहिले के भयो थाह छैन ।' 

भिडियो :