इटहरीः रानी–धरान जोड्ने ६ लेन सडक अन्तर्गत इटहरी खण्डमा कमसल निर्माण भएको भन्दै स्थानीयले विरोध जनाएका छन् । 

इटहरी उत्तरतर्फ संगीत चौकबाट निकास हुने ढललाई मुख्य राजमार्गबाट कटाउँदा कलभर्ट बनाउनेपर्नेमा ह्यूम पाइप मात्र हालिएको भन्दै स्थानीयले विरोध जनाएका हुन् । 

करिब १ सय ८० फिट लामो सडकको लम्बाइमा ह्यूम पाइप राख्दा पानीको निकास नजाने र वर्षाको बेला पूर्व तर्फबाट संगीतचौक लाइनका घरहरु डुबान हुने अवस्था आउने हुँदा निर्माण पक्षले यसबारे गम्भिर बन्न आवश्यक रहेको स्थानीय राजु केसीले बताए । उनले लामो ह्यूम पाइपमा वालुवा र फोहोर भरिए सफाइमा गर्न गाह्रो हुने भन्दै कुनै हालतमा वैज्ञानीक नहुने तर्क गरे । 

आज सडकमै पत्रकार सम्मेलन गरेका स्थानीयले राष्ट्रिय गौरवको आयोजनालाई अवरोध गर्ने स्थानीयको नीति नभइ बाटो सुधार गर्नुपर्ने पक्षमा आफुहरु रहेको लक्ष्मि थेवेले जानकारी दिए । केहि भित्रै पिच गर्ने गरी बाटोको काम तीव्र रुपमा भइरहेको बेला स्थानीयले ६ लेन सडकमा यस्तै प्रकृतीको ठाउँमा अन्त कतै ह्यूम पाइप नराखिएको र इटहरीको मुख्यचौक छेउमै यस्तो ह्यूम पाइप राखिँदा पनि स्थानीय सरकार चनाखो नहुनु आश्चर्य रहेको केसीले तर्क गरे । 

स्थानीयका अनुसार वडाअध्यक्ष दीपक गौतम सहित मेयर र उपमेयरलाई पटक पटक ध्यानाकर्षण गराइएको छ भने आयोजना प्रमुखलाई समेत स्थानीयले भेटिसकेका छन् । सँघर्ष समितीका अध्यक्ष ज्ञानेन्द्र बस्नेत भन्छन् ‘सडक निर्माण गर्दा बेलैमा ध्यान नदिए हाम्रो टोल त डुबान हुन्छ नै यहाँका व्यवसायीक क्षेत्र तहसनसह हुन्छ ।’ उनले सडक निर्माण पक्ष र नगरपालिकाले आफ्नो माग सुन्वाइ नगरिदिए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए । 

यता ६ लेन सडक परियोजनाका प्रमुख बद्री प्रसाद शर्माले भने उक्तस्थानमा पहिले पनि ह्यूम पाइप भएको हुँदा अहिले सो भन्दा ठुलो आकारको ह्यूम पाइप राखिएको जानकारी दिए । पहिले सडक निर्माण बारे पालिकासँग भएको छलफलमा सोहि ह्यूम पाइप भए हुन्छ भन्ने सहमती भएको हुँदा आफूले सोहि बमोजिम काम गरेको भन्दै अब १० दिनमा निर्माण सम्पन्न हुने सडकलाई पुनः विरोध गरे काम एक वर्ष पछि धकेलिने तर्क गरे । 

‘उक्त स्थानमा निर्माण पक्षले पिच सक्न १० दिन लाग्छ । एकै ठाउँमा पुनः ठेक्का गर्न मिल्दैन र निर्माणपक्षले दोहोर्याएर काम पनि गर्दैन ।’ शर्माले भने ‘यहि विषय पहिल्यै भनिदिएको भए मैले एउटा इन्जिनियर लगाएर डिजाइन परिवर्तन गरिदिन्थे । यो अकाट्य चिज हुँदैन होइन । मात्र अब समय घर्कियो । सडक भत्काउन मिल्दैन ।’