धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सकहरुले आन्दोलनस्थलमा नै विरामीको स्वास्थ्य जाँच गरेका छन् ।
प्रतिष्ठानको उपकुलपति कार्यालयअघि भेला भएर विरोधसभा गर्दै आएका आन्दोलनकर्मीहरुले आज मंगलबार विरामीहरुलाई स्वास्थ्य सेवा दिएका हुन् । संयुक्त संघर्ष समितिले आइतबारदेखि इर्मजेन्सी र कोभिड अस्पतालबाहेक सम्पुर्ण सेवाहरु बहिष्कार गरेको छ । सरकारले उच्चस्तरीय कार्यदलको प्रतिवेदन र स्वास्थ्य मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयनमा ढिलासुस्ती गरेको भन्दै सेवा बहिष्कार गरेको थियो ।
सेवा बहिष्कार नगर्न सबैतिरबाट आग्रह भइरहदा संघर्ष समितिले आजदेखि भने आन्दोलनस्थलमा नै उपचार सेवा दिएका हुन् । जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका अध्यक्ष पदम नेपालीले आन्दोलन फिर्ता लिने अवस्था नभए पनि आन्दोलनस्थलबाट नै विरामीहरुलाई उपचार सेवा प्रदान गरिएको बताए । उनले भने,‘फलोअपमा आएकाहरुको पुर्जा हुन्छ । नयाँ विरामीलाई आवश्यक जाँच गरेर खाली कागजमा औषधी र सल्लाह लेखेर दिएका छौं ।’
मंगलबार करिब २ घण्टासम्म उपचार गर्न विरामीहरुको भिड नै थियो । करिब २ सयको हाराहारीमा विरामीले सेवा पाएको संघर्ष समितिले जनाएको छ । आन्दोलनरत चिकित्सकहरुले छाला, हाडजोर्नी, मेडिसिन, कार्डियो, मानसिक, पल्मोनोजोली, डेन्टललगायतका बिशेषज्ञ सेवा प्रवाह गरेको जुनियर रेसिडेन्टका अध्यक्ष डा.नेपालीले बताए ।