धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपिडीसहितका सबै उपचार सेवाहरु सुचारु भएको छ । 

आन्दोलनरत संयुक्त संघर्ष समितिले एक विज्ञप्तीमार्फत सबै पक्षबाट आएको सल्लाहलाई मध्यनजर गर्दै सेवा बहिष्कारको आन्दोलनलाई तत्काल स्थगित गरिएको जनाएको छ । योसँगै आजैदेखि ओपिडीसहितका अन्य सेवाहरु पनि सुचारु भएको छ । संघर्ष समितिका संयोजक डा.एसपी रिमालले स्वास्थ्य मन्त्रालयसहित सबै पक्षबाट अनुरोध भएको कारण ओपिडीसहितका सबै सेवाहरु सञ्चालनमा आएको बताए । तर, उपकुलपतिसहितका पदाधिकारीहरुको कार्यकक्षमा लागेको तालाबन्दी भने यथावत रहने उनले प्रष्ट पारे । साथै, पदाधिकारीहरु चढ्ने गाडीको चाबी नियन्त्रण पनि यथावत रहने उनले बताए ।

उच्चस्तरीय कार्यदलको प्रतिवेदन र मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयन गर्न सरकारले ढिलासुस्ती गरेपछि आन्दोलनरत पक्षले इर्मजेन्सी र कोभिड अस्पतालबाहेक सबै सेवाहरु बहिष्कार गरेको थियो । आन्दोलनको यो स्वरुपबारे धरानका केही राजनीतिक दलहरुले आपत्ति जनाउदै त्यसविरुद्ध प्रर्दशन गरेका थिए । सो क्रममा उपकुलपति कार्यालयमा लागेको ताला तोडिएको थियो भने ढोकाको शिशा तोडफोडसमेत भएको थियो ।

सहमतिहरु पुनः कार्यान्वयनमा ढिलासुस्ती भएमा कडा आन्दोलन गर्ने संघर्ष समितिको भनाई छ । ‘ओपिडीलगायतका सेवाहरु पुर्ववत अवस्थामा सञ्चालनमा आइसकेको छ । तर मागहरु पुरा नभएसम्म अन्य आन्दोलन यथावत हुन्छ,’संयोजक डा.रिमालले भने,‘ मन्त्रालयले फेरि अनुरोध गरेको छ, मानेका छों । फेरि पनि ८–१० दिनभित्र भएन कडारुपमा जान्छौं ।’

1 12 13