धरान: स्मार्ट बसपार्क निर्माणसहितको तीनकुने सुन्दुर बस्ती विकास आयोजनाको काम शुरु भएको छ । 

लामो समयदेखिको विवाद अन्त्य भएपछि आयोजनाको कामले गति लिएको हो । यो आयोजना धरानको गौरवको आयोजना पनि हो । आयोजना प्रमुख खगेन्द्र प्रसाद खतिवडाका अनुसार आयोजना अन्तर्गतको बसपार्क प्रवेश मार्गसहितको सडक सञ्जालमा रहने ड्रेन निर्माणको कार्य शुरु भएको छ । यसको लागि साइट क्लियरेन्सको काम प्रारम्भ भएको उनले जानकारी दिए ।

साइट क्लियरेन्स भएपछि ठेकेदर कम्पनीलाई ड्रेन निर्माण कार्य गर्न सहज हुनेछ । यसको लागि पटक पटक उपप्रमुख मञ्जु भण्डारी सुवेदीको पहलमा स्थानीय जग्गाधनीहरुसँग छलफल भएको थियो। स्थानीय तह निर्वाचन लगत्तै तत्कालिन मेयर तारा सुब्बाले आयोजनाको विवाद समाधान गर्ने जिम्मेवारी उपप्रमुख भण्डारीलाई दिएका थिए । उनले विभिन्न चरणमा छलफल गर्दै समाधानको उपाय खोजेकी थिइन् ।काम शुरु भएपछि उपप्रमुख भण्डारी सोमबार स्थलगतरुपमा हौसला दिन आयोजनास्थल पुगेकी थिइन् । 

बसपार्कको पहुँच मार्ग र आयोजनाको सडक सञ्जालको ठेक्का ब्राइट बुलले पाएको छ । यो बर्ष ड्रेन निर्माण हुने र अर्को बर्ष पिचको काम हुने आयोजना प्रमुख खतिवडाले जानकारी दिए । आयोजना अन्तर्गत बसपार्क निर्माणको लागि पनि टेण्डर प्रक्रियाबाट ठेकेदार छनौट भई निर्माणको सम्झौता गत असारमा नै भइसकेको छ । स्मार्ट बसपार्कको काम पनि चाडै शुरुवात हुने खतिवडाले बताए ।

buspark4

buspark3

buspark1

buspark2

buspark5