धरानः आइसिसी महिला ट्वान्टी–२० विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीले आफ्नो अन्तिम चरणको प्रशिक्षण सम्पन्न गरेको छ । 

सुनसरी जिल्ला क्रिकेट संघको ब्यवस्थापनमा इटहरीमा अशोज ७ गतेबाट सुरु भएको आज बुधबार सम्पन्न भएको हो । महिला राष्टिय टिमका मुख्य प्रशिक्षक जगत टमटाले एक सातासम्म इटहरीस्थित क्षेत्रिय रंगशालाको इन्डोर हल र डिभिएम स्कुल परिषरमा रहेको मैदानमा प्रशिक्षण गराएका थिए । 

      छनोट खेलका लागि पहिलो पटक नेपाल क्रिकेट संघ क्यानले नेपाली महिला खेलाडीहरुलाई सानो सानो समुहमा प्रशिक्षण सुरु गरेको हो । पहिलो पटक क्यानले पहिलो चरणमा देशका प्रमुख तीन स्थानमा खेलाडीलाई प्रशिक्षणमा राख्ने योजना अनुसार भदौ अन्तिम साता काठमाण्डौ र कञ्चनपुरको महेन्द्रनगरमा प्रशिक्षण सम्पन्न गरेको थियो । 

   प्रशिक्षण सकिएकाले तिनै ठाउको प्रशिक्षणलाई आधार मानेर मलेसियामा हुने खेलको लागि अन्तिम १४ सदस्यीय खेलाडी छनौट गरिने प्रशिक्षक टमटाले जानकारी दिए । यसअघि क्यानले एक महिनाअघि नै एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको नाम सार्वजनिक गरिसकेको थियो। गत वर्ष सम्पन्न प्रधानमन्त्री कप र मेयर्सकप क्रिकेट प्रतियोगितामा महिला खेलाडीले गरेको प्रदर्शनका आधारमा क्यानको छनोट समितिले २४ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेर प्रारम्भिक प्रशिक्षण सुरु गरेको थियो ।

मलेसियामा हुने भनिएको महिला टी २० विश्वकपको एशिया छनोट २३ नोभेम्बरबाट २८ नोभेम्बरसम्म हुने बताइएको छ । जसमा नेपाल सहित भुटान, चीन, कुवेत, मलेसिया, म्यानमार, यूएई र हङकङ खेल्नेछन । एसिया छनोटको विजेता पाँच क्षेत्रबीच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोटबाट शीर्ष दुई टोलीले ट्वान्टी–२० विश्वकपमा  स्थान बनाउनेछन् ।