धरान: सुनसरी जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा धरानका खेलकुदकर्मी घनश्याम बुढाथोकी नियुक्त भएका छन् । 

प्रदेश १ खेलकुद विकास बोर्डले सुनसरीमा बुढाथोकीसहित १४ वटै जिल्ला खेलकुद समितिमा अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेको हो । सुनसरीको उपाध्यक्षमा इटहरीकी अञ्जु पाण्डे नियुक्त भएकी छिन् । बोर्डले नियुक्त गरेका सबै जिल्लाका अध्यक्ष र उपाध्यक्षहरुलाई हिजो बिहिबार सपथ ग्रहण पनि गराइसकेको छ । समितिका पदाधिकारीहरुको कार्यकाल ४ बर्षको हुनेछ । 

सुनसरीको अध्यक्षमा नियुक्त बुढाथोकी धरान फुटबल क्लबका कोषाध्यक्ष पनि हुन् । उनले आइतबार पदभार ग्रहण गरेर काम अघि बढाउने प्रतिक्रिया दिए । साथै, समितिका बाँकी सदस्यहरु जिल्लासँग समन्वय गरेर प्रदेश बोर्डले गठन गर्ने उनले बताए । 

के छन् भावी योजना ?

jilla-sports1

नवनियुक्त अध्यक्ष बुढाथोकीले क्लिकधरानसँग संक्षिप्त कुरा गर्दै सुनसरी जिल्लालाई विगतमा झै खेदकुदमा उर्बर जिल्लाकोरुपमा विकास गर्ने आफ्नो योजना रहेको बताए । उनले भने,‘सुनसरी जिल्ला खेलकुदको उर्बर भुमी हो । नेपालमा यहीबाट थुप्रै खेलहरुको शुरुवात भएको इतिहास छ । सुनसरीलाई फेरि खेलकुद र खेलाडीको उर्बर भुमि बनाउने योजना छ ।’

अध्यक्ष बुढाथोकीले आफ्नो कार्यकालमा धरान, इटहरी, इनरुवालगायत क्षेत्रमा अपुर्णरहेको रंगशालाको निर्माण कार्यलाई पुर्णता दिने पनि बताए । साथै, धरानमा नगर खेलकुद विकास समितिले ल्याएको खेलग्रामको अवधारणालाई कार्यन्वयन गर्न पनि भुमिका निर्वाह गर्ने उनले बताए ।