धरान: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको संघीय अध्यक्षमा कुमार लिङ्देन निवार्चित भएका छन् ।
मंसिर २६ र २७ गते धरानको होटल इजी राइडरमा सम्पन्न तेस्रो संघीय राष्ट्रिय महाधिवेशनबाट लिङ्देन संघीय अध्यक्षमा निवार्चित भएका हुन् । कार्यसमिति १८० सदस्यीय रहेको छ । महाधिवेशनबाट उपाध्यक्षहरुमा ज्ञानबहादुर गुरुङ, ज्ञानबहादुर लिम्बु इम्बुङ, बिशेन्द्र चेम्जोङ, विष्णु तुम्बाहाम्फे, चन्द्र खापुङ, इन्द्रकुमार श्रेष्ठ, विष्णुकुमार यक्सो, अम्बरबहादुर लिम्बु पन्धाक, रघुवीर ठगुन्ना, शर्मिला बागचन्द, तेण्डी शेर्पा, मिङ्मार लामा र कृष्ण थेवे चयन भएका छन् । यस्तै, प्रवासबाट उपाध्यक्षहरुमा चन्द्रकुमार लिङ्देन, टंक खापुङ, शर्मिला यक्सो लिम्बु चयन भएका छन् भने महासचिवमा अशोक चेम्जोङ, शान्ता योङ्हाङ छन् ।
नवनिवार्चित अध्यक्ष लिङ्देनले बुधबार आयोजित पत्रकार सम्मेलनमा आगामी निर्वाचनमा मञ्चलाई राष्ट्रिय दल बनाउने लक्ष्य राखिएको बताए । उनका अनुसार चुनाव चिह्न खुकुरीमा कम्तीमा ३ प्रतिशत अर्थात ३ लाख भोट ल्याएर राष्ट्रिय दल बनाउने राजनैतिक कार्यदिशा महाधिवेशनबाट पारित भएको छ । यस्तै, सबै प्रदेशहरुमा १५ जनाको दरले प्रदेश सांसदहरु उपस्थित गराउने पनि लक्ष्य राखिएको उनले बताए । ‘मञ्चले उठाउदै आएको १० प्लस १ को मुद्दालाई ५ बर्षमा वारपार गर्ने कार्यदिशा पनि पारित भएको छ,’उनले भने ।
अध्यक्ष लिङ्देनले प्रवासमा बसेका नेपालीहरुलाई पनि मताधिकार दिइनुपर्नेमा जोडदिए । प्रत्यक्षमा नभएपनि समानुपातिकमा मताधिकार प्रवासमा भएका नेपालीहरुले पाउनुपर्ने उनले बताए । ‘प्रवासमा ४० देखि ५० लाख नेपालीहरु श्रम गर्न गएका छन्, उनीहरुले पठाएको रेमिट्यान्सले देश चलेको छ, तर उनीहरुलाई मताधिकार किन नदिने ?’उनले भने ।
अध्यक्ष लिङ्देनले गण्डकी प्रदेशबाहेकको सबै प्रदेशका राजधानीहरु सिमाना नजिक तराईमा राखेर पहाडलाई अन्याय गरेको पनि बताए । उनले आफुहरुको एजेण्डा १० प्लस १ प्रदेश हुँदा ९ वटा राजधानी पहाड हुने भएकोले पहाडलाई न्याय हुने पनि बताए । ‘पहाडका भगौडा नेताहरुले प्रदेशको राजधानी सिमानामा बनाए, अनि दोष चै भारतलाई दिने ?’उनले भने, ‘पहाडलाई वेवास्ता गरियो । पहाडलाई बनाउने योजना खै त ? ११ वटा प्रान्त भयो भने ९ वटाको राजधानी पहाडमा हुन्छ, र पहाड पनि बन्छ ।’
लिङ्देनले विकासले बसाई सराईको क्रम नरोकिने जिकिर गर्दै राजनैतिक अधिकार पहाडमा पुगे मात्र बसाई सराईको क्रम रोकिने बताए । पहाडलाई मरुभुमीकरण गर्ने दिशामा अहिलेको राज्यव्यवस्था अघि बढेको भन्दै उनले पहाडलाई जोगाउनुपर्ने धारणा पनि राखे । ‘पहाड सुरक्षित छ, सौन्दर्य छ, पहाडमा नै सहर विकास गर्दै जानुपर्छ,’उनले भने ।