धरान: जेनजी आन्दोलनको क्रममा राजनैतिक दलका नेता एवं पुर्वजनप्रतिनिधिहरुको घर, व्यवसायिक भवनमा तोडफोड, आगजनी र लुटपाट भएपछि धरानमा सर्वपक्षीय नागरिक बचाउ अभियान गठन भएको छ ।
मंगलबार साँझदेखि धरानमा पुर्वजनप्रतिनिधि र नेताहरुको घर लक्षित गरेर तोडफोड, लुटपाट र आगजनी भएपछि आज (बुधबार) सर्वपक्षीय नागरिक बचाउ अभियान गठन भएको हो । धरानको सबै वडालाई विभिन्न ८ वटा समुहमा समेटेर सर्वपक्षीय नागरिक बचाउ अभियान गठन गरिएको छ । ती अभियानको नेतृत्वमा राजनैतिक दलहरुबाट निवार्चित जनप्रतिनिधि र नेताहरु छन् ।
धरान वडा नं १० का अध्यक्ष विवेक राईका अनुसार शान्ति, सद्भाव कायम गर्न र लुटपाट, आगजनी जस्ता अराजक गतिविधि रोक्न संगठित भएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दे भनेका छन्, यो बिषम परिस्थितिमा सबै व्यक्ति जिम्मेवार बन्न जरुरी छ । वडाअध्यक्ष राईले अराजक गतिविधि गर्ने व्यक्ति वा समुह आए आफ्नो ठाउँ, टोल,चोकबाट एकजुट भएर प्रतिकार गर्न र सबैले साथसहयोग गर्न पनि उनले अनुरोध गरेका छन् ।
कुन वडामा को छन् अभियानको नेतृत्वकर्ता ?
वडा नं १७ मा वडाअध्यक्ष मनोज भट्टराई, सुरज कार्की, शिखर राईलगायत नेृतत्वकर्ता छन् भने वडा नं ११ र १८ मा संयुक्तरुपमा पुर्वमेयर तिलक राई, वडाअध्यक्ष प्रविण राई, दिवस राईलगायत नेतृत्वकर्ता छन् ।
वडा नं १५, ४, ५ र ६ मा संयुक्त नेतृत्वकर्ताकोरुपमा उमेश थापा, सुजेन्द्र तामाङ, चोत्लुङ, श्रीसुब्बा, ताजुब लिम्बुलगायत छन् भने वडा नं ९, १० र १९ मा संयुक्तरुपमा वडाअध्यक्ष विवेक राई, रतन लिम्बु, चित्र लिम्बु, राजकुमार थोप्रालगायत छन् ।
यस्तै, वडा नं १३ र १६ मा वडाअध्यक्ष मुरारी भट्टराई, माधव घिसिङ, सम्पुर्ण ताम्राकार, वडाअध्यक्ष नेत्र काफ्ले, रवि राई, महेन्द्र भट्टराईलगायत नेतृत्वकर्ताकोरुपमा रहेका छन् । वडा नं १, २, ३, ७ र ८ मा नेतृत्वकर्ताकोरुपमा पर्वत राई, रवि पाख्रिन, वडाअध्यक्ष जीवन सुवेदी, मिङ्मा भोटे शेर्पा, रोशन अधिकारी, विनोद मगर, रण थेवे, युनेश राना मगरलगायत छन् ।
यस्तै, वडा नं १२ मा किसोर राई, ब्रह्मज्ञ भट्टराईलगायत नेतृत्वकर्तामा छन् भने वडा नं १४ मा हर्कजङ्ग एभेङ, अमिर राई, प्रभाव खतिवडा, विकास राई, हिमाल पाण्डेलगायत नेतृत्वकर्ताकोरुपमा छन् । यसैगरि, वडा नं २० मा वडाअध्यक्ष पदम लिम्बु, सम्फर तामाङ, इन्द्र राई, सुर्य राईलगायत नेतृत्वकर्ताकोरुपमा रहेका छन् ।
सोमबार शुरु भएको जेनजी आन्दोलन मंगलबार दिउँसो समापन हुँदासम्म धरानमा शान्तिपुर्ण रहेको थियो । यद्यपी, आन्दोलन समापन गरिनुअघि दिउँसो छाचातोकस्थित नेकपा एमालेको पार्टी कार्यालयमा केही व्यक्तिहरु पुगेर तोडफोड गरिसकेका थिए । साँझदेखि भने जेनजीको नाममा धरानमा अराजकता फैलिएको थियो ।
अराजकता मच्चाउदै हिडेको समुहले एमालेसँगै नेकपा माओवादी केन्द्र र कांग्रेसको पार्टी कार्यालयमा पनि तोडफोड, आगजनी गरेको थियो । धरानका जेनजी अगुवाहरुले आन्दोलन समापन भएको घोषणा गरिसकेपछि पनि पुर्वजनप्रतिनिधि र नेताहरुको घरलाई निसाना साधेर तोडफोड, आगजनी र लुटपाट गरेका थिए । धरानमा कति क्षति भयो भनेर आकलन हुन सकेको छैन ।
कार्यपालिका सदस्यको घरमा पनि तोडफोड र लुटपाट
सरकारविहिनताको अवस्थामा देशभर अराजकता मच्चिएको बेला धरानमा पनि मंगलबार साँझ एक्कासी हिंसा तोडफोड, लुटपाट र आगजनी शुरु भयो । जेनजी आन्दोलनको रापले प्रहरी प्रशासन निरिह बनेको मौकामा तोडफोड गर्दै हिडेको समुहले कहाँ कहाँ के गर्यो भनेर जानकारी पाउन पनि गाह्रो भएको थियो । उक्त समुहले धरान नगर कार्यपालिका सदस्य सृर्जना नेपालको धरान १५ स्थित घरमा पनि तोडफोड र लुटपाट गरेको पाइएको छ ।
पुर्वउपमेयर मञ्जु भण्डारी सुवेदीको घरमा तोडफोड र लुटपाट गरेको समुह नै माइकिङ गर्दै कार्यपालिका सदस्य नेपालको घरमा पनि पुगेर तोडफोड गरेको उक्त घरमा भाडामा बस्ने एक युवाले बताए । उनले भने, 'सृर्जना नेपालको घर यही होइन भन्दै आए । मैले हामी भाडामा बस्ने हौं भनेर अनुरोध गरेपछि भुईतलामा केही गरेन, तर माथिल्लो तला गएर सबै सामान तोडफोड गर्दै लुटेर पनि लगे ।'
उनका अनुसार सबै कोठा, किचन र बाथरुममा समेत पसेर तोडफोड गरेका थिए । दराज फोडेर लत्ताकपडा, गरगहना, किचनका सामानहरु सबै लुटेर लगेको र कसैले रोक्न सक्ने अवस्था पनि नभएको ती युवाको भनाई छ । 'सामान बोकेर लैजाने बच्चाहरु, किसोरकिसोरीहरु पनि थिए, हामीले रोक्न सक्ने अवस्था नै थिएन,' उनले भने ।
यो समुहले मंगलबार पुर्वमेयर मनोजकुमार मेन्यांबोको धरान ८ स्थित होटलकञ्चनजंघा भएको घर, पुर्वउपमेयर मञ्जु भण्डारी सुवेदीको घरमा पनि तोडफोड, लुटपाट गर्दै घरभित्रबाट सामानहरु निकालेर आगो लगाइदिएका थिए । यस्तै, पुर्वसांसद जयकुमार राई, कांग्रेस नेताद्धय उमेश थापा र सुजेन्द्र गोलेको घरमा पनि तोडफोड गरेको थियो । भाटभटेनीमा आगजनी गरिदा भवन र सामानहरु जलेर पुर्णरुपमा नष्ट भएको छ । नेताहरुको घरलाई निसाना बनाउदै वडा नं १७ रेल्वे र वडा नं १८ बुद्धचोक पुगेको समुहलाई भने त्यहाँका स्थानीयबासी र युवाहरुले प्रतिकार गरेर खेदाएका थिए ।