धरान: जेनजी आन्दोलनको क्रममा बर्बरतापुर्वक प्रहरी दमन गरिएको विरोधमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थीहरुले प्रर्दशन गरेका छन् ।
प्रतिष्ठानस्थित विद्यार्थी कल्याण समाज र स्वतस्फुर्त विद्यार्थीहरुको समन्वयमा आज (मंगलबार) बिहान प्रदर्शन भएको हो । विद्यार्थीको होस्टलबाट शुरु भएको र्याली प्रतिष्ठानका उपकुलपति कार्यालय परिसर पुगेर जिओपिडी अघिको विपी कोइरालाको सालिक परिसरमा सभामा परिणत भएको थियो । विद्यार्थीहरुले केपी ओली नेतृत्वको सरकार पञ्चायती र राणा शासनभन्दा पनि निरंकुश भएको भन्दै चर्को नारा लगाएका थिए ।
भिडियो:
निहत्था विद्यार्थीहरुमाथि गोली बर्षाएर नरसंहार मच्चाएको भन्दै प्रधानमन्त्री, गृहमन्त्रीले राजिनामा दिएर मात्र नहुने र उनीहरुलाई कारबाही हुनुपर्ने पनि प्रर्दशनमा सहभागी विद्यार्थीहरुले माग गरेका छन् । विद्यार्थीहरुले स्वास्थ्य, शिक्षालगायत हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप गरेर राजनीतिकरण गर्ने प्रवृत्तिको कारण नेताहरुको सधै सत्तामा टिकिरहेको भन्दै विरोध जनाए ।
उनीहरुले विद्यार्थीहरुलाई पनि विभिन्न संगठनको नाममा राजनीतिकरण गरिएको भन्दै पार्टीहरुलाई बाइकट गर्नुपर्ने बताए । साथै, हजुरबा पुस्ताका नेताहरुलाई कुनै हालतमा स्वीकार नहुने भन्दै आक्रोश पोखे । जेनजीको आन्दोलन सामाजिक सञ्जालको बिषयमात्र नभएर भ्रष्टचार अन्त्यको लागि पनि भएको उनीहरुले बताए । तर, प्रधानमन्त्री ओलीले वक्तव्य जारी गर्दा सामाजिक सञ्जालको लागि मात्र भनेर जेनजीको भावना र आन्दोलनको अपमान गरेकोमा पनि विद्यार्थीहरुको आक्रोश थियो ।









