धरान: हिजो रातीदेखी धरान १० पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो १६ घण्टा बितिसक्दा पनि पुर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन ।

हिजो (मंगलबार ) राती करिब ८ बजेतिर जेनजी आन्दोलनको आवरणमा रहेका अराजक युवाहरुले भाटभटेनी तोडफोड र लुटपाट गरेर आगो लगाएका थिए । आगो नियन्त्रणमा धरान उपमहानगरपालिकाको दमकलको टोली हिजो रातीदेखी नै खटिएको छ ।

20250910_165521

आज दिउँसो २  बजेदेखि बराहक्षेत्रको एउटा दमकल पनि आएर आगो निभाउन खटिएको छ । आगोले भित्र भित्रै सामान र भवन जलिरहेको कारण नियन्त्रण गर्न गाह्रो भएको खटिएका दमकलका कर्मचारीहरुले बताएका छन् । 

कम्तिमा ३ जना फसे

भाटभटेनी तोडफोड र लुटपाटको क्रममा हिजो भित्र कम्तिमा तीन जना फसेको हुनसक्ने आशन्का गरिएको छ । तोडफोड गर्दै भित्र प्रवेश गरेर माथिल्लो तला पुगेका केही युवाहरु भुईतलाबाट आगो सल्किएपछि निस्कन नपाएको फसेका मध्येका एक युवाको छिमेकी तथा संचारकर्मी नवीन सेन्च्युरीले जानकारी दिए ।

20250910_165331

उनका अनुसार ती छिमेकी युवाले राती १ बजेसम्म परिवारमा फोन सम्पर्क गरेको र आफुहरु भाटभटेनी भित्र फसेको, धुवाँले सास फेर्न गाह्रो भएको बताएका थिए । त्यसपछि भने सम्पर्कविहिन भएको र परिवारसङ्ग आजसम्म सम्पर्कमा नआएकोले उनीहरू निस्कनै नपाएको हुनसक्ने संचारकर्मी सेन्च्युरीले बताए ।