इटहरी: सुनसरीको इटहरीमा आगामी माघ पहिलो सातादेखि नगरपालिका गोल्डकप २०७८ हुने भएको छ ।

इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले शुक्रबार शिल्ड अनावरण गर्दै प्रतियोगिताको घोषणा भएको हो । प्रतियोगिताको आयोजक एरिना टेलिभिजन रहेको छ । कोभिड १९ का कारण लामो समय खेलकुद गतिविधि नभएको अवस्थामा खेलाडी र खेलक्षेत्रको बिकासमा सहयोग गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकको भनाई छ ।

प्रतियोगिताबारे जानकारी दिदै एरिना टेलिभिजनका प्रबन्ध निर्देशक समीर कार्कीले यसअघि पनि टेलिभिजनले विभिन्न खेल र मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरिसकेको बताए । तिनै गतिविधिको निरन्तरता स्वरूप खेल बिकासका लागि प्रतियोगिता आयोजना गरिएको पनि उनले बताए।

हालसम्म प्रतियोगितामा ८ वटा नगरले सहभागिता जनाउन इच्छुक भएको आयोजकले जनाएको छ । प्रतियोगिता इटहरीको जनता माविको खेलमैदानमा सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले शिल्ड र नगद १ लाख ५० हजार रूपैयाँ पाउनेछ भने उपविजेताले नगद १ लाख रूपैयाँ प्राप्त गर्नेछ । 

उपप्रमुख लक्ष्मी गौतमले नगरपालिका गोल्डकपले नगरपालिकाहरूले खेलक्षेत्रमा गरेका कार्यहरूको मूल्यांकन समेत हुने बताइन् । उनले उपमहानगरले प्रतियोगितामा सहभागिता जनाउने र सम्भव भएसम्म प्रदेश १ बाहिरका नगरपालिकाहरूलाई पनि प्रतियोगितामा समावेश गर्न सुझाव दिइन्।