धरान: धरानको चर्चित फुटबल प्रतियोगिता गोधुली रनिङ कपको २२ औं सँस्करणको नगद पुरस्कार राशी वृद्धि भएको छ ।

आयोजक गोधुली क्लबका अनुसार प्रथम पुरस्कार वृद्धि गरेर १ लाख ५० हजार पुर्याइएको छ भने उपविजेताले ७५ हजार नगद पुरस्कार पाउनेछन् । गएको सँस्करणमा विजयी टिमले १ लाख ११ हजार १ सय ११ रुपैया पाएको थियो भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया पाएको थियो । 

क्लबका उपाध्यक्ष सतिस केसीका अनुसार पुष २४ गते शनिबारदेखि माघ ८ गतेसम्म प्रतियोगिता आयोजना हुदैछ । धरान १६ स्थित रंगशालामा हुने प्रतियोगिताको तयारी पुरा भएको पनि उनले बताए । प्रतियोगितामा धरानको २० वटै वडाको टिम सहभागी हुने निश्चित भएको पनि उनले बताए । 

rangasala

गत बर्ष धरानको वडा नं १४ पहिलो पटक च्याम्पियन भएको थियो । वडा १४ ले फाइनलमा वडा नं १६ लाई टाइब्रेकरमा हराउदै उपाधि पहिलो पटक उचालेको थियो । वडा १४ ले पहिलो पटक फाइनल खेलेको थियो । टाइब्रेकरमा फाइनल जितेको वडा १४ ले त्यसअघिको ३ वटा खेल पनि टाइब्रेकरमा नै जितेको थियो । गोधुली रनिङ कपलाई धरानमा प्रतिभाशाली फुटबल खेलाडी जन्माउने प्रतियोगिताकोरुपमा लिइन्छ । गत बर्ष इतिहासमै पहिलो पटक बुढासुब्बा गोल्डकप आयोजना नहुदा गोधुली रनिङ कप हेर्न दर्शकहरुको घुइचो लागेको थियो ।