सुनसरी: धरानको दुई चर्चित क्लब धरान फुटबल क्लब र गोधुली क्लब सुनसरी जिल्ला स्तरिय ए डिभिजन लिग फुटबलको फाइनल पुगेको छ । 

इटहरी रंगशालामा बिहिबार सम्पन्न सेमिफाइनल खेलहरुमा जित निकाल्दै धरानको दुई टोली फाइनल पुगेको हो । अब उपाधिको लागि धरानका दुई टोलीबीच पुष २५ गते फाइनल भिडन्त हुनेछ । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा धरान फुटबल क्लबले बराहक्षेत्रको न्यू स्टार क्लबलाई ३–१ गोल अन्तरले हराउदै उपाधि नजिक पुगेको हो । 

खेलको ७ औं मिनेटमा न्यू स्टारका सन्तोष श्रेष्ठले गोल गरी आफ्नो टिमलाई अग्रता दिलाएका थिए । धरानका सरोज राईले २७ औं मिनेटमा गोल फर्काएपछी खेल एक–एक को बराबरीमा आयो । त्यसको एघार मिनेटपछी धरानका बिबेक टेम्बेले एक गोल गरी धरानलाई २–१ को अग्रता दिलाए । खेलको ४८ औं मिनेटमा बिबेकले नै पेनाल्टी मार्फत थप एक गोल गरेपछी धरानले न्यू स्टार माथी सहज जित हात पार्यो । उक्त खेलको म्यान अफ द म्याच २ गोल गर्न सफल बिबेक नै घोषित भए । उनलाई राष्टिय जागृती क्लबका पूर्व अध्यक्ष ईश्वरी पराजुलीले नगद १ हजार ५ सय र मेडल प्रदान गरे । 

  दोस्रो सेमिफाइनल खेलमा धरानकै गोधुली क्लबले राष्टिय जागृती क्लब इटहरीलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । निर्धारित समय र त्यसपछी थपिएको अतिरिक्त समयमा दुबै टिमबाट गोल हुन नसकेपछी खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । 

        राष्टिय जागृतीका लागि सुमित चौधरी र निकेश तामांगले मात्र गोल गर्न सफल भए भने स्मित तामंगको प्रहार गोल गोलपोष्टमा लागेर बाहिरिएको थियो । रंजन कटुवालको प्रहार गोधुलीका गोलकिपरले बिफल बनाएका थिए । गोधुलीका महेन्द्र बिष्ट, बबिन थापा, मार्टिन राई र अमृत राईको प्रहार गोलमा परिणत भएको थियो । 

उक्त खेलको म्यान अफ द म्याच गोधुलीका निमा शेर्पा घोषित भए । उनलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजीब ढुंगाना र माहाधिबेशन प्रतिनिधि महेश बास्तोलाले नगद १ हजार ५ सय र मेडल प्रदान गरे । अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा सुरु भएको लिगको फाइनल खेल पौष २५ गते हुनेछ । फाइनल बिजेताले नगद ५० हजार पाउदा उपबिजेताले २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

*समाचारको शीर्षकमा आइतबार हुनुपर्नेमा शनिबार हुन गएकोमा क्षमाप्रार्थीसहित सच्याइएको छ । सम्पादक