धरान: किरातीहरुको नयाँ वर्ष यलम्वर संवत ५०८२ (यलेदोङ)को अवसरमा अन्तर प्लस टु लेवल महिला थ्री वाइ थ्री बास्केटवल प्रतियोगिताको तयारी भएको छ । 

किरात राई यायोक्खा सुनसरीको आयोजनामा शनिवार धरान १९ स्थित हरियालि बास्केटवल कोर्टमा एक दिने बास्केटवल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा धरानका दश टिमले सहभागिता जनाएको आयोजकले जनाएको छ । सहभागी विद्यालयहरुमा हिमालयन मेघा ए र वि, विष्णु मेमोरियल ए र वि, धरान आर्दश ए र वि, सुनाखरी, सिओन, डिपोट र होलिल्याण्ड स्कुल रहेको छ । विजेता खेलाडीहरुले ५ हजार रुपैया, उपविजेताले ३ हजार रुपैया, ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी विजेताले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

      किरातीहरुले माघ १ लाई यलम्वर संवतको रुपमा नया वर्ष मान्दै आइरहेको छ । विगतका वर्षमा एकदिनको कार्यक्रम गरेर मनाउदै आइरहेको किराया सुनसरीले यस पटक भने भव्य रुपमा नयाँ वर्ष मनाउन किराती समुदायलाई आह्वान गर्दै सात दिने कार्यक्रम आयोजना गरिरहेको छ ।

सात दिने कार्यक्रममा नेपाल पत्रकार महासंघ, सुनसरी टिमसंंग मैत्रिपुर्ण खेल, शनिवार एक दिने वास्केटवलसंगै किरातीहरुको घरघरमा यायोक्खाको झण्डा फहराउने, किरात नया वर्षको शुभकामाना सन्देश संगै ८२ वटा वेलुन किरातीहरुको एतिहासिक स्थल विजयपुर डाँडाबाट उडाउने, किरातीहरुको घरमा दिपावालि गर्ने र पौष ३० गतेको दिन धरानको भानु चौकमा स्टल सहितको भव्य स्टेज निर्माण गरिने छ । स्टलमा विभिन्न जातिको परिकार पाइनेछ । 

उक्त दिन साकेला नाच हुनेछ भने कार्यक्रममा किरात प्रदेश किन ? भन्ने विषयमा मदन पुरस्कार विजेता साहित्यकार राजन मुकारुङद्धारा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यस्तै, साँझ नेपालकी चर्चित कलाकार मेलिना राई, हाँस्य कलाकार विल्सन विक्रम तक्मे वुढा र स्थानीय कलाकारहरुको प्रस्तुतिमा रमाउदै किरातिहरुको नया वर्ष यलम्वर संवत ५०८२को स्वागत गर्ने कार्यक्रम रहेको छ ।