सुनसरी: सुनसरी जिल्ला स्तरिय ए डिभिजन लिग फुटबलको उपाधी धरान फुटबल क्लबले जितेको छ ।
इटहरी रंगशालामा आइतबार सम्पन्न फाइनलमा धरानकै गोधुली क्लबलार्ई सडेन डेथमा पराजित गर्दै धरानले उपाधी जितेको हो । उपाधीसंगै धरान फुटबल क्लब प्रदेश लिगको लागि समेत छनौट भएको छ । च्याम्पियन भएको क्लबले नगद ५० हजार रुपैया हात पारेको छ भने उपबिजेता गोधुली क्लबले नगद २५ हजार रुपैयाामा चिक्त बुझाएको छ ।
फाइनलमा निर्धारित ९० मिनेट र त्यसपछीको १५ मिनेट थपिएको अतिरिक्त समयमा समेत दुबै टिमबाट गोल हुन नसकेपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउट समेत दुबै टिमले ५–५ गोलको बराबरी खेलेपछी खेलको निर्णय सेनडेथबाट लिइएको हो । सडेनडेथमा गोधुलीका निमा शेर्पाको प्रहार बाहिरिनुनै उसका लागि दुर्भाग्य बन्दा धरान फुटबल क्लबका सुबेश राइले गोल गर्न सफल भएपछी धरानको भाग्य चम्किएको हो ।
फाइनल खेलको म्यान अफ द म्याच गोधुली क्लबका सबिन राई घोषित भए । बिधागत पुरस्कारतर्फ धरान फुटबल क्लबकै बर्चश्व रह्यो । धरान फुटबलका क्याप्टेन रिवश मास्के उत्कृष्ट खेलाडी घोषित हुदै नगद ५ हजार पुरस्कार पाए । धरानकै राजीव खड्का उत्कृष्ट गोलकिपर र सागर घिमिरे उत्कृष्ट प्रशिक्षक घोषित भए ।
गोधुली फुटबल क्लबका सुशिल राई उत्कृष्ट मिडफिल्डर, राष्टिय जागृती क्लब इटहरीका अनिष चौधरी उत्कृष्ट डिफेन्स, न्यू स्टार क्लब बराहक्षेत्रका सन्दिप श्रेष्ठ उत्कृष्ट स्टाईकर घोषित भए । उनीहरु सबैले जनही ३ हजार ५ सय नगद पुरस्कार पाए । सुनसरी जिल्ला फुटबल संघका आयोजनामा सम्पन्न लिगमा सुनसरीका आठ टिमले प्रतिष्पर्धा गरेका थिए ।