सुनसरी: प्रथम सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधीका लागि आयोजक मेमोरी युवा क्लब र पूर्वाञ्चल युनाइटेड बिच प्रतिष्पर्धा हुने भएको छ । 

सुनसरीको दुहबी ८ सोनापुरमा जारी प्रतियोगिता अन्तर्गत आज शनिबार भएको दोस्रो सेमीफाइनल खेलमा मोरंग बिराटचौकको एकता युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधी भिडन्त पक्का गरेको हो । 

आयोजक क्लबलाई उपाधी नजिक पुर्याउन खेलको ७० औ मिनेट कुशल राईले निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच आयोजक क्लबका मिडफिल्डर उमेश कार्की घोषित हुदै नगद २ हजार रुपैया पाए । 

फाइनल खेल सोमबार हुने मेमोरी युवा क्लबका सचिव पञ्चनारायण चौधरीले बताए । यसअघि पहिलो सेमिफाइनल खेलमा डागीहाट फुटबल क्लबलाई सडेनडेथमा पराजित गर्दै पूर्वाञ्चल युनाइटेड फाइनल प्रवेश गरिसकेको छ । प्रतियोगितामा उपाधी बिजेताले नगद १ लाख र उपबिजेताले ५१ हजार रुपैया पुरस्कार पाउनेछ ।