धरान: धरान खानेपानी व्यवस्थापन बोर्डले एक दिन विराएर मात्र पानी वितरण शुरु गरेको छ । 

तीन दिन अघि(माघ ७ गते)देखि बोर्डले धरानमा दिन बिराएर पानी वितरण गर्न थालेको हो । बोर्डका अनुसार नयाँ संरचनाहरुको परिक्षण गर्न टेष्टिङ एण्ड कमिशनिङको काम भइरहेको कारण एक दिन विराएर खानेपानी वितरण गरिएको हो । टेष्टिङ र कमिशनिङको काम सकिएपछि नियमितरुपमा नै खानेपानी वितरण हुने पनि बोर्डले जारी गरेको सुचनामा उल्लेख छ । 

कार्यकारी निर्देशन राजु पोख्रेलका अनुसार फुस्रे सिस्टम सञ्चालन गर्न बाँकी रहेको छ । सञ्चालन गर्नुअघि टेष्ट गर्नुपर्ने भएकोले अहिलेको स्थिति आएको उनले बताए । म्याद सकिए पछि पनि पछिल्लो समय ठेकेदार कम्पनी र परामर्शदातालाई उपमहानगरपालिकाले आयोजनाको काम पुरा गर्न ल्याएको थियो । परामर्शदाताको म्याद अब मार्च महिनासम्म मात्र छ । त्यसैले अढाई महिनाभित्र आयोजनाको टेष्टिङ कार्य सकेर पुर्णरुपमा सञ्चालन गर्नुपर्ने दबाब छ । ‘अरु सबै सिस्टमको टेष्टिङ सकियो, फुस्रे सिस्टम चलाउन बाँकी छ । कन्ट्याक्टरको म्याद बाँकी छ, तर कन्सल्टेन्टको मार्चसम्म मात्र छ,’पोख्रेलले भने । 

धरानको खानेपानी समस्या हल गर्ने उद्देश्यले एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदान सहयोगमा आयोजना सञ्चालनमा आएको थियो । आयोजनाको म्याद सकिए पनि पुर्णक्षमतामा पानी वितरण हुन सकेको छैन । आयोजना असफल भएको आरोप पनि लाग्दै आएको छ । यद्यपी, आयोजनाले भने लक्ष्य अनुसार नै पानी उत्पादन भइरहेको तर खानेपानी संस्थानको अवरोध र पुरानो संरचनाको कारण वितरणमा समस्या देखिएको जनाउदै आएको छ । संस्थानको सम्पत्ति तथा दायित्व पनि अब बोर्डमा हस्तान्तरण भइसकेकोले पानी वितरणको जिम्मा बोर्डको रहेको छ । 

khanepani-board