धरान: धरान उपमहानगरपालिकाको आयोजनामा सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिता हुने भएको छ । 

नगर प्रमुख तिलक राईको अध्यक्षतामा सोमबार बसेको नगर खेलकुद समितिको बैठकले सुपर ८ लिग फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको हो । बैठकले फागुन २८ गते शनिबारदेखि चैत्र १३ गतेसम्म धरान १६ स्थित रंगशालामा गर्ने निर्णय गरेको हो । प्रतियोगितामा २२ औं संस्करणको अन्तर वडा स्तरीय गोधुली रनिङ कपमा उत्कृष्ट सुपर ८ भित्र पर्ने वडाहरुले मात्र सहभागी हुन पाउनेछन् । 

उपमहानगरपालिकाका फुटबल प्रशिक्षक अर्जुन राईका अनुसार सुपर ८ लिगमा धरानका वडा नं. ८, ११, १३, १४, १५, १६, १८ र १९ ले सहभागिता जनाउनेछन् । प्रतियोगिताको पुरस्कारको बारेमा भने खेलकुद समितिको पुनः अर्को बैठक बसेर घोषणा गर्ने भएको छ । 

यस्तै, बैठकले कोरोना महामारीका कारण गत वर्षदेखि स्थगित भएको ग्रासरुट फुटबल प्रशिक्षण पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । प्रशिक्षक राईले यही फागुन १४ गतेदेखि प्रत्येक शनिबार ६ वर्षदेखि १२ वर्षसम्मका बालबालिकाहरुलाई ग्रासरुट फुटबल प्रशिक्षण गराईने जानकारी दिए । उनका अनुसार धरान १६ स्थित रंगशालामा प्रत्येक शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म फुटबल प्रशिक्षण गराईनेछ । 

यसैगरी, धरानमा नगरपालिका कर्मचारी (महिला/पुरुष) ब्याडमिन्टन प्रतियोगिता पनि हुने भएको छ । आज बसेको बैठकले यही फागुन २४ र २५ गते दुई दिनसम्म ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिने निर्णय गरेको हो । यस्तै, धरान उपमहानगरपालिकाले यही फागुन २५ गतेदेखि २८ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने निर्णय गरेको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उशु, कराते, तेक्वान्दो, भलिबल, एथलेटिक्स र कबड्डी खेल हुनेछन् ।