धरान: डिफेण्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब धरानमा जारी छैटौ हराईजन राष्ट्रिय बास्केटवलकपको फाइनलमा प्रवेश गरेको छ ।
धरान १७ स्थित बास्केटवल कोर्टमा बुधबार भएको पहिलो सेमीफाइनल खेलमा काठमाण्डौको रोयल्स बास्केटबल क्लबलाई ९२– ७९ स्कोरले पराजित गर्दै आर्मी उपाधि रक्षाको नजिक पुगेको हो । आर्मीले प्रत्येक क्वाटरमा क्रमशः ३०–२१–२६–१५ स्कोर गरेको थियो भने रोयल्सले क्रमशः ३२–१४–१४–१९ स्कोर गरेको थियो । आर्मीका लागि सर्वाधिक २८ स्कोर गरेका आयुस सिंह म्यानअफ द म्याच घोषित भए ।
आर्मीले अब उपाधीको लागि भोली (बिहिबार) हुने बिशाल मिलन केन्द्र काठमाण्डौ र काठमाण्डौकै टाईम्स क्लब बीचको विजेताको सामना गर्नुपर्नेछ । प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ । प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार र उपबिजेताले ५५ हजार रुपैया पाउने आयोजक हराईजन क्लबले जनाएको छ ।