धरान: काठमाण्डौंको टाइम्स क्लब छैटौ हराईजन टुबोर्ग राष्ट्रिय बास्केटवल कपको च्याम्पियन बनेको छ । 

धरान १७ स्थित बास्केटवल कोर्टमा शुक्रबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ८१–७८ स्कोरले हराउदै टाइम्स क्लब च्याम्पियन बनेको हो । टाइम्सले पहिलो, दोस्रो, तेस्रो र चौथो क्वार्टरमा क्रमशः १९–१८–१८–२६ स्कोर गरेको थियो भने आर्मीले क्रमशः २५–१४–२२–१७ स्कोर गरेको थियो । टाइम्सले च्याम्पियन ट्रफीसँगै नगद पुरस्कार १ लाख ११ हजार रुपैया पाएको छ भने उपबिजेता बनेको आर्मीले ५५ हजारमा चित्त बुझाएको छ । 

फाइनल खेलको म्यान अफ द म्याच आर्मीका बिनोद महर्जन घोषित भए भने प्रतियोगिताको उत्कृष्ट खेलाडी टाइम्सका सदिश प्रधान घोषित भए । प्रधानले नगद पुरस्कार ११ हजार रुपैया हात पारे । उदयमान खेलाडी ब्रदर्श क्लब धरानका कबिन मगर घोषित भए । उनले नगद ५ हजार पुरस्कार पाए । 

विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई आयोजक हराईजन क्लबका अध्यक्ष वसन्त राई, प्रमुख अतिथि रहेका मेयर तिलक राई, अग्रज पत्रकार हर्ष सुब्बालगायतले पुरस्कार वितरण गरेका थिए । चैत्र ५ गतेदेखी शुरु भएको प्रतियोगितामा देशभरका ८ वटा टिमको सहभागिता रहेको थियो ।