धरान: स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिताको उपाधी धरान–१५ ले जितेको छ ।
शनिबार धरान १६ स्थित रंगशालामा भएको फाइनल खेलमा वडा नं.११ लाई २–० गोल अन्तरले पराजित गर्दै वडा नं. १५ ले उपाधी जितेको हो । उपाधी ट्रफीसँगै वडा नं. १५ ले नगद २ लाख पुरस्कार समेत जितेको छ । उपविजेता भएको ११ नं. वडाले नगद १ लाखमा चित्त बुझाएको छ । प्रतियोगिताको सेमिफाइनमा पुगेका टिमहरुलाई पनि पुरस्कार दिने घोषणा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले गरेका छन् ।
खेलको १३ औं मिनेटमा वडा १५ का बसन्त बानियाँले उत्कृष्ट गोल गरे भने ५० औं मिनेटमा पेनाल्टीमा वडा १५ का मदन लाबुङले गोल गर्दै टिमलाई विजयी गराए । फाइनल खेलमा वडा नं. ११ ले पाएको अवसरहरु सदुपयोग गर्न नसक्दा पराजित भयो । वडा नं. ११ का हेमन्त थापा मगरले प्रहार गरेको दुई वटा फ्रिकिक बारमा लागेर फर्किएको थियो ।
प्रतियोगितामा प्रविण लिम्बू उत्कृष्ट गोल किपर घोषित भए । वडा १५ का सुगम जिमी उत्कृष्ट मिडफिल्डर, मदन लाबुङ उच्च गोलकर्ता, उत्कृष्ट प्रशिक्षक जुदास राई र फाइनल खेलको म्यान अफ द म्याच बसन्तकुमार बानिया घोषित भए । उनीहरु सबै १५ का हुन् । वडा नं. ११ का अजय विष्ट उत्कृष्ट डिफेन्स घोषित भए भने उत्कृष्ट स्ट्राइकर वर्तमान राई घोषित भए । प्रत्येकलाई नगद ५ हजार सहित मेडल प्रदान गरिएको थियो ।
धरान उपमहानगरपालिका अन्तर्गतको नगर खेलकुद विकास समितिको आयोजना र धरान भेट्रान्स फुटबल क्लबको व्यवस्थापनमा प्रतियोगिता आयोजना भएको थियो । प्रतियोगितालाई गोर्खा ब्रूअरी प्रालिले मुख्य प्रायोजन गरेको थियो । प्रतियोगितामा गोधुली रनिङ कपका उत्कृष्ट ८ टिम सहभागी थिए । सहभागी टिमलाई दुई समुहमा विभाजन गरी लिगकम नकआउटका आधारमा भएको थियो ।