धरान: धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटवल प्रतियोगिताको उपाधिमा आयोजक धरान मेघा कलेजले जितेको छ ।

धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा शनिवार आयोजित खेलमा एम्स एकेडेमीलाई ४८–३० स्कोरले हराउदै धरान मेघाले उपाधि जितेको हो । धरान मेघाले पहिलो, दोस्रो र तेस्रो क्वाटरमा ८–४, १४–६ र १४–५ स्कोरले अग्रता लिएको थियो । चौथो क्वाटरमा भने धरान मेघा १२–१५ स्कोरले पछाडि परे पनि उपाधि उचाल्न सफल भयो । फाइनल खेलमा धरान मेघाका खेलाडी युवाहाङ राईले व्यक्तिगत १४ स्कोर गर्यो । 

उपाधि संगै धरान मेघाले नगद १५ हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता एम्स कलेजले नगद ७ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । विजेता टिमका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि एवं प्रदेश नं १ मुख्यमन्त्री राजेन्द्रकुमार राई, धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्वु, नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, स्वर्गीय रेवाहाङ राईका बुबा एवं नेकपा एकीकृत समाजवादीका धरान उपमहानगनगर अध्यक्ष रेवतिरमन राई, नेपाल ख्रिष्टीयन समाजका केन्द्रिय सचिव कुवेर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

basket-rewahang1

प्रतियोगिताका उत्कृष्ट खेलाडी धरान मेघा कलेजका योगेश राई घोषित भए । उनले नगद एक हजार ५ सय रुपैया, ट्रफि, प्रमाणपत्र र कफि पव फुड भौचर प्राप्त गरेका छन् । प्रतियोगिताका अवधिभर व्यक्तिगत ५९ अंक जोड्दै हाइ स्कोररको पुरस्कार सियोन स्कुलका साहिल तामाङले हात पारे । उनले नगद एक हजार रुपैया, ट्रफि, कफि पव फुड भौचर र प्रमाणपत्र प्राप्त गरेका छन् । उदयीमान खेलाडीको पुरस्कार सियोन स्कुलका पारुहाङ राई घोषित भए । उनले ट्रफि, कफि पव फुड भौचर र प्रमाणपत्र प्राप्त गरेका छन् ।

फाइनल खेल अघि कफि पव थ्री पोइन्ट कम्पिटिसन पनि भएको थियो । कफि पव थ्री पोइन्टको उपाधि भने धरान मेघा कलेजका गगन राई र योगेश राईले जिते । दुवैले एक मिनेटमा समान ७/७ बास्केट गर्दै पुरस्कार बाँडे । उनीहरुले नगद दुई हजार रुपैया, ट्रफि, कफि पव फुड भौचर र प्रमाणपत्र प्राप्त गरेका छन् ।  

basket-rewahang2

    दिवंगत उदयमान बास्केटवल खेलाडी रेवाहाङ राईको स्मृतिमा चैत्र १५ गते देखि प्रतियोगिता सुरु भएको थियो । रेवाहाङ डिपो स्कुलका विद्यार्थी भए पनि धरान मेघा कलेजले सहजरुपमा प्रतियोगिता आयोजना गर्न स्विकार गरेको बताउदै बुबा रेवतीरमण राईले आयोजक धरान मेघा कलेज र वास्केटवल संघलाई धन्यवाद दिए । कलेजका अध्यक्ष कैलाश लिम्बुले अतिरिक्त क्रियाकलापमा विशेष प्रथामिकता दिएको बताउदै उदयमान बास्केटवल खेलाडी दिवंगत रेवाहाङलाई सम्मान गर्न तथा नयाँ खेलाडीहरुलाई प्रोत्साहन गर्न पाउदा धरान मेघा कलेज खुशी भएको बताए । 

प्रमुख अतिथि एवं मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश १ खेलकुद वोर्ड गठनमा ढिलाइ भइरहेको र चाडै गठन गरि खेलकुदको कार्यक्रममा बास्केटवल खेल र यस प्रतियोगिताको अक्षयकोषलाई समेत समिटिने प्रतिवद्धता जनाए । प्रतियोगिता धरान मेघा कलेजको आयोजना, धरान बास्केटवल संघको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा भएको थियो । प्रतियोगितामा विभिन्न १६ वटा टिमको सहभागिता रहेको थियो ।