धरान: फुटबल खेलप्रति आकर्षण बढाउन प्रदेशस्तरीय प्रथम टुबोर्ग हाम्रो धरान भेट्रान कप २०७९ आयोजना गरिने भएको छ ।
हाम्रो धारन भेट्रान फुटबल क्लबको आयोजनामा यही बैशाख ३ गतेदेखि १० गतेसम्म भेट्रान कप हुने भएको हो । क्लबले बिहिबार पत्रकार सम्मेलन गर्दै धरानमा फुटबलको गतिविधि चलायनमान बनाउन प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । प्रतियोगिता धरान १६ स्थित रंगशालामा आयोजना हुनेछ । क्लबका अध्यक्ष अशोक कुमार राईले खेलको माध्यमबाट पनि सामाजिक कार्य गर्ने, ३५ बर्ष कटेका भेट्रान खेलाडीलाई खेलको माध्यमबाट स्वास्थ राख्ने तथा सामाजिक विकृति हटाउने उद्देश्य पनि राखिएको बताए ।
प्रतियोगितामा प्रदेश नं. १ भरिका विभिन्न १२ टिमले सहभागिता जनाउने पनि अध्यक्ष राईले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने टिममा ३८ बर्षको ३ जना, ४० बर्षका ८ जना अनिवार्य खेलाडी हुनुपर्ने पनि उनले बताए । प्रतियोगिताको विजेता हुने टिमले नगद ८० हजार, ट्रफी र मेडल पाउनेछ भने दोस्रो हुने टिमले नगद ४० हजार, ट्रफी र मेडल पाउनेछ । यस्तै, प्रतियोगिताका व्यक्तिगत विधामा समेत पुरस्कार दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा कुल ६ लाख ५५ हजार खर्च हुने आयोजकको अनुमान छ ।
आयोजकका अनुसार प्रतियोगितामा आयोजक हाम्रो धरान भेट्रान, जनता भेट्रान इटहरी, दुधे भेट्रान शिवसतासीधाम, दुहबी भेट्रान सुनसरी, एभरेष्ट भेट्रान मोरंग, डाँडाबजार भेट्रान धनकुटाले सहभागिता जनाएको छ । यस्तै, लेटांग भेट्रान मोरंग, मिल्स भेट्रान विराटनगर, विर्तामोड भेट्रान झापा, हाम्रो इटहरी भेट्रान, दमक लखनपुर भेट्रान र भरौल भेट्रान सुनसरीले पनि सहभागिता जनाएको आयोजकको भनाई छ ।