धरानः हाम्रो धरान भेट्रान फुटबल प्रतियोगितामा आयोजक हाम्रो धरान भेट्रान र दमक लखनपुर भेट्रान विजयी हुदै क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
आइतबार भएको पहिलो खेलमा डाँडाबजार भेट्रानलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक क्वाटर फाइनलमा प्रवेश गरेको हो । आयोजकका लागी योगेन राईले निर्णायक गोल गरेका थिए । उनले खेलको २० औं मिनेटमा गोल गरेका थिए । अब क्वाटर फाइलमा आयोजकले एभरेष्ट भेट्रान मोरङसँग प्रतिष्पर्धा गर्नेछ । खेलको म्यान अफ द म्याच आयोजक हाम्रो धरान भेट्रानका विकास राना मगर घोषित भए । उनलाई नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै दोस्रो खेलमा दमक लखनपुर भेट्रानले भरौल भेट्रानलाई ३–१ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलको यात्रा तय गरेको छ । खेलमा भरौलका सन्तोष चौधरीले २१ औं मिनेटमा गोल गर्दै भरौललाई अग्रता दिलाएका थिए । तर लगातार दमक लखनपुरले ३ गोल गरेपछि भरौल पराजित भएको थियो ।
लखनपुरका लागी देवमान लिम्बूले २८ औं मिनेट, चन्द्रकुमार राईले ५५ औं मिनेट र विकास राईले ६० औं मिनेटमा गोल गरेका थिए । अब क्वाटर फाइनलमा दमक लखनपुरले हाम्रो इटहरी भेट्रानसँग प्रतिष्पिर्धा गर्नेछ । खेलको म्यान अफ द म्याच दमक लखनपुरका देवमान लिम्बू घोषित भए । उनलाई नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो ।
सोमबार पहिलो खेलमा दुधे भेट्रान झापा र दुहबी भेट्रान सुनसरी बीच १ः३० बजे धरान रंगशालामा खेल हुनेछ भने दोस्रो खेलमा लेटाङ भेट्रान मोरङ र बिर्तामोड भेट्रान झापाबीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ४० वर्ष माथी उमेर समुहका खेलाडी सहभागी छन् भने ३८ वर्षका ३ जनालाई पनि समावेश गराउन पाउने नियम छ । प्रतियोगिताको विजेतालाई नगद ८० हजार र उपविजेतालाई नगद ४० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।