धरान: धरानमा अन्तर वडा स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ ।
धरान भेट्रान फुटबल क्लबको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा यही बैशाख ८ र ९ गते फुटसल प्रतियोगिता हुने भएको हो । धरान–८ स्थित हाम्रो फुटसलमा हुने प्रतियोगिताको विजेतालाई १ लाख ३१ हजार र उपविजेतालाई ६१ हजार नगद पुरस्कार दिइने प्रतियोगिता संयोजक रवि राईले जानकारी दिए । धरानमा पहिलो पटक सेभेन साइज फुटसल कोर्टमा वडा स्तरीय प्रतियोगिता हुन लागेको हो ।
प्रत्येक टोलीमा २ जना अफिसियलसहित १२ जना रहने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन सम्बन्धीत वडाकै खेलाडी हुनुपर्ने अनिवार्य सर्त रहेको पनि आयोजकले जनाएको छ । प्रतियोगिता संयोजक राईका अनुसार धरानलाई फुटसल खेलाडीको उत्पादनका निम्ति वडा स्तरीय प्रतियोगिता गर्न लागिएको हो । पोखरामा सम्पन्न राष्ट्रिय फुटसल प्रतियोगितामा धरान तेस्रो भएकोले फुटसल खेलमा धरानको सम्भावना राम्रो रहेको उनले बताए ।
प्रतियोगिताको तयारी तिब्र गतिमा भइरहेको र विभिन्न वडाले टिम दर्ता गर्ने प्रकृया चलिरहेको पनि आयोजकले जानकारी दिएको छ । छोटो तयारीमा प्रतियोगिता सम्पन्न गर्न लागिएको भए पनि खेलाडीहरुले चासो दिएकोले प्रतियोगिता सफल हुने पनि आयोजकले विश्वास लिएको छ ।