धरान: धरानको कार्यपालिका सदस्यको निर्वाचनको लागि नेकपा एमाले र गठबन्धन दलहरुले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालय धरानमा शुक्रबार एमाले र गठबन्धन दलहरुले मनोनयन दर्ता गरेको हो । नगर कार्यपालिकाको लागि ८ जना सदस्यहरुको निर्वाचन आइतबार (जेठ १६ गते) हुनेछ । 

निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार ५ जना निवार्चित नगरसभा सदस्यहरुमध्येबाट कार्यपालिका सदस्यमा निवार्चित गर्नुपर्ने हुन्छ भने ३ जना बाहिरबाटै दलित वा अल्पसंख्यक समुदायका व्यक्तिलाई निवार्चित गर्नुपर्ने नेपालको संविधानमै व्यवस्था गरिएको छ । अधिकृत नेपालका अनुसार शनिबार बिहान १० बजे उम्मेद्वारहरुको नामावली प्रकाशन हुनेछ भने चुनाव चिह्न पनि दिइनेछ । 

एमालेबाट को को छन् उम्मेद्वार ?

एमालेबाट ८ जनाले कार्यपालिका सदस्यहरुको लागि उम्मेदवार मनोनय गरेका छन् । नगरसभा सदस्य रहेका ५ जना महिलाहरुबाट देवीमाया विश्वकर्मा, सावित्र परियार दर्जी, रविन गुरुङ, विनिता बज्रचार्य र सृर्जना नेपाललाई कार्यपालिका सदस्यमा पठाउने एमालेले निर्णय गरेको थियो । 

यस्तै, दलित तथा अल्पसंख्यक कोटाबाट विकास भाटी, अनुप देवान र दिनेश विश्वकर्मालाई कार्यपालिका सदस्यमा पठाउने एमालेको निर्णय वमोजिम उनीहरुले पनि मनोनयन दर्ता गरिसकेका छन् । 

गठबन्धनबाट को को भए उम्मेद्वार ?

गठबन्धन दलबाट पनि ८ जनाले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् । गठबन्धनमा नगरसभाको महिलाहरुतर्फ कांग्रेसबाट रहिसा कसजु, रिता सुन्दास, सुशिला कुमारी श्रेष्ठ, शोभा विश्वकर्माले मनोनयन दर्ता गरेका छन् भने माओवादी केन्द्रकोतर्फबाट शेषकुमारी घिमिरेले मनोनयन दर्ता गरेकी छिन् ।

यस्तै, दलित तथा अल्पसंख्यक कोटामा कांग्रेसले प्रेमकुमार राई र सन्तोष विश्वकर्मालाई उम्मेद्वार बनाएको  छ भने माओवादी केन्द्रबाट सर्वजित राईलाई उम्मेद्वार बनाएको छ । 

के होला नतिजा ?

धरानमा बैशाख ३० गतेको निर्वाचनबाट कुल १०२ जना नगरसभा सदस्यहरु निवार्चित भएका छन् । त्यसमध्ये नेकपा एमालेबाट ५६ जना निवार्चित छन् । यो नगरसभामा बहुमत सदस्य हो । 

यस्तै, नेपाली कांग्रेसबाट ३७ जना निवार्चित छन् भने माओवादी केन्द्रबाट ६ जना निवार्चित छन् । गठबन्धन दल कांग्रेस र माओवादी केन्द्र दुवैको जोड्दा पनि ४३ जना मात्र पुग्छन् । वडा १४ का अध्यक्ष राप्रपाबाट निवार्चित हुन् भने वडा ६ का अध्यक्ष स्वतन्त्र हुन् । मेयर पनि स्वतन्त्रबाट निवार्चित भएका छन् । 

कार्यपालिका सदस्यको निर्वाचनमा मतदाता १०२ जना नगरसभा सदस्यहरु नै हुन्छन् । नगरसभामा एमालेको बहुमत भएको हुनाले स्वतः एमालेका उम्मेद्वारहरुले जित्नसक्छन् । मेयर र २ जना वडाअध्यक्षले कसलाई सघाउने वा मत दिने प्रष्ट भइसकेको छैन । एमालेका १० जनाले मतदानमा क्रस गरेमा मात्र उक्त पार्टीको उम्मेद्वार पराजित हुनसक्छन् । मतदाताहरु निवार्चित जनप्रतिनिधि भएको हुनाले भोट क्रस हुने सम्भावना अत्यन्त कम हुन्छ ।