धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका सदस्यहरुको निर्वाचन जेठ १६ गते हुने भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले मंगलबार कार्यपालिका सदस्यको निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । जसअनुसार आज मतदाता नामावली प्रकाशन गर्ने रहेको छ । उम्मेद्वारको मनोनयनपत्र दर्ता गर्ने समय जेठ १३ गतेलाई तोकिएको छ भने जेठ १४ गते उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गर्ने र १६ गते मतदान गर्ने कार्यतालिका छ । मतदान बिहान १० बजेदेखि १ बजेसम्मलाई तोकिएको छ।

निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार ८ जना कार्यपालिका सदस्यको लागि निर्वाचन हुन लागेको हो । ती मध्ये ५ जना महिला निवार्चित भएका वडा सदस्यहरुमध्येबाट चुनिनेछन् भने ३ जना बाहिरबाट दलित र अल्पसंख्यकबाट चुनिनेछन् । राजनीतिक दलहरुले कार्यपालिका सदस्यको उम्मेद्वार बनाएकाहरुलाई बैशाख ३० गतेको निर्वाचनबाट निवार्चित भएका मेयर, उपमेयर, वडाअध्यक्षसहित १०२ जना नगरसभा सदस्यहरुले मतदान गर्ने पनि निर्वांचन अधिकृत नेपालले जानकारी दिए ।

कार्यपालिका सदस्यबारे नेपालको संविधानमै व्यवस्था गरिएको छ । संविधानको धारा २१६ को उपधारा ४ मा ‘नगरसभाको निर्वाचनको अन्तिम मतपरिणाम प्राप्त भएको मितिले १५ दिनभित्र नगरसभा सदस्यहरुले आफूमध्येबाट निवार्चित गरेका ५ जना महिला सदस्य र उपधारा (५) वमोजिम योग्यता भएका दलित वा अल्पसंख्यक समुदायबाट नगरसभाले निवार्चित गरेका तीन जना सदस्यसमेत नगर कार्यपालिकाको सदस्य हुनेछन्’ भन्ने व्यवस्था गरेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको निर्वाचन कार्यक्रम:

dhrn-karyapalika

संविधानमा भएको व्यवस्था:

dharan-karyapalika