धरान: बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम आइसकेको छ । 

अन्तिम मतपरिणाम आउदा सबैभन्दा बढी क्षति नेकपा एमालेलाई भएको छ । २०७४ मा मेयर र उपमेयरसहित १४ वटा वडा जितेको एमालेको नगरसभामा झण्डै दुईतिहाई बहुमत थियो । नगरसभामा १०२ जनामध्ये ७१ जना एमालेको थियो । त्यसैको आडमा कार्यपालिकामा पनि थप ८ जना एमालेकै उम्मेद्वार विजयी भएर दुईतिहाई अर्थात ३० जनामा २४ जना एमालेका कार्यपालिका सदस्य थिए ।

यसपालीको निर्वाचनमा एमाले १० वटा वडामा मात्र सिमित भएन, मेयर र उपमेयर पनि गुमाउन पुग्यो । हुन त तत्कालिन मेयर तारा सुब्बाको निधन भएपछि २०७६ मा भएको उपनिर्वाचनमा नै एमालेले मेयर गुमाइसकेको थियो । यसपाली मेयर कांग्रेसले पनि जित्न सकेन । स्वतन्त्र उम्मेद्वार रहेका सामाजिक अभियन्ता हर्क साम्पाङले मेयर जिते । उपमेयरमा भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघा निवार्चित भएका छन् ।

२०७४ मा जितेको ४ वटा वडा गुमाएर १० वटा वडामा खुम्चिए पनि नगरसभामा भने एमाले नै ठुलो पार्टी बनेको छ । नगर सभामा हाल एमालेका ५६ जना निवार्चित भएका छन् । कुल १०२ जना नगर सभा सदस्यमा यो बहुमत हो । एमालेको प्यानलै जितेको वडा ४, ५, ८, १०, १२, १३, १५ र १९ बाट ४० जना नगरसभा सदस्य छन् भने वडा २ मा एक वडा अध्यक्ष र एक सदस्य गरि २ जना जितेको छ । यस्तै, वडा ६ मा अध्यक्षबाहेक ४ जना, वडा ७ मा वडाअध्यक्षसहित ३ जना, वडा ११ मा अध्यक्षबाहेक ४ जना जितेको छ भन् वडा १४ मा २ जना र वडा २० मा एक जना सदस्य नगरसभामा जितेको छ। 

नगरसभामा कांग्रेसको वडा नं १, ३, ९, १६ र १८ मा प्यानलै जित्दा २५ जना नगरसभा सदस्य जितेका छन् भने वडा २ बाट सदस्यहरु २ जना, वडा नं ७ मा ३ जना, वडा ११ मा एक जना वडाअध्यक्ष, वडा १४ मा कांग्रेसबाट २ सदस्य जना र वडा २० मा अध्यक्षसहित ४ जना गरि कुल ३७ जना नगरसभा सदस्य निवार्चित भएका छन् । यस्तै, माओवादी केन्द्रबाट उपमेयर र वडा १७ मा प्यानल गरि ६ जना निवार्चित छन् । कांग्रेस र माओवादी केन्द्र गठबन्धन दल भएको हुनाले दुवैको जोड्दा पनि ४३ जना मात्र पुग्छन् । वडा नं १४ मा वडाअध्यक्ष राप्रपा र वडा ६ मा स्वतन्त्रबाट निवार्चित छन् । मेयर पनि स्वतन्त्रबाट निवार्चित हुन् ।

कार्यपालिकामा कस्को बहुमत ?

अहिले मेयर, उपमेयर र २० वटा वडाको मात्र निर्वाचन मतपरिणाम हेर्दा कार्यपालिकामा कसैको पनि बहुमत पुगेको छैन । कार्यपालिकामा मेयर, उपमेयर र वडाअध्यक्षहरु हुन्छन् । मेयर स्वतन्त्र छन् । एमालेबाट १० जना अध्यक्ष निवार्चित छन् । कांग्रेसबाट ७ जना वडाअध्यक्ष छन् भने माओवादीबाट उपमेयर र एक जना वडाअध्यक्ष छन् । एक जना वडाअध्यक्ष राप्रपा र एक जना स्वतन्त्र छन् । 

अब ८ जना कार्यपालिका सदस्यहरुको निर्वाचन भएपछि भने कार्यपालिकामा पनि कस्को बहुमत पुग्छ भन्ने प्रष्ट देखिन्छ । ती ८ जना कार्यपालिका सदस्यहरुलाई नगरसभाले निवार्चित गर्ने र नगरसभामा एमालेको बहुमत भएकोले एमालेबाटै निवार्चित हुने देखिन्छ । त्यसो हुँदा ३० जनाको कार्यपालिकामा एमालेको १८ जना हुनेछ, र बहुमत पुग्छ ।