धरानः गत फागुन २२ गते सम्पन्न भएको २१ औं मिस्टर धरानको आयोजक एलाइनेट जिमले प्रतियोगिताको आय व्याय सार्वजनिक गरेको छ । 

आयोजकले शुक्रबार धरान १० स्थित कफी पब एण्ड रेष्टोमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आय व्याय सार्वजनिक गरेको हो । एलाइनेट जिमका कोषाध्यक्ष केशव श्रेष्ठका अनुसार प्रतियोगितामा आयोजकलाई १८ हजार मुनाफा भएको छ । प्रतियोगितामा ५ लाख ३० हजार आम्दानी भएको थियो भने बिभिन्न शिर्षकमा ५ लाख १२ हजार खर्च भएको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए । 

प्रतियोगिताको उपाधि हाम्रो व्यायामशाला आशिषकुमार राईले जितेका थिए । उनले नगद १ लाख र ३ लाख बराबरको मेशिन पुरस्कार पाएका थिए । यस्तै, दोस्रो क्रञ्च फिटनेशका अर्पण लिम्बु दोस्रो र सन्तोष लिम्बु तेस्रो भएका थिए । झुनाज फिटनेसका सन्तोष राई चौथो भएका थिए । 

२२ औं मिस्टर धरान फागुनमा गर्ने घोषणा

mr-dhrn

आयोजक एलाइनेट जिमले २२ औं मिस्टर धरान आगामी फागुनमा गर्ने घोषणा गरेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष बिक्रम लिम्बुले अहिलेदेखि नै प्रतियोगिताको तयारी शुरु गरिने जानकारी दिएका हुन् । 

खेलाडीहरुलाई पनि प्रतियोगिताको तयारी गर्न पर्याप्त समय पुगोस् भनेर अहिले नै आयोजनाको घोषणा गरिएको उनले बताए । ‘अहिले नै प्रतियोगिता घोषणा गरेपछि खेलाडीहरुलाई तयारी गर्न पर्याप्त समय हुन्छ,’उनले भने । पुरस्कार राशी नघट्ने भन्दै उनले पछि बढ्न सक्ने पनि बताए ।