धरान: जुन ५, विश्वभर वातावरण दिवस विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ । यो दिन वातावरण संरक्षण कसरी गर्ने भनेर बहस गर्नुपर्ने भएपनि नेपालमा भने मानिसहरुले नै उत्पादन गरेको फोहोरलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा नै केन्द्रीत रह्यो । 

आइतबार धरानसहित देशका विभिन्न स्थानहरुमा सडकमा जथाभावी फालिएको फोहोर संकलन गरेर विश्व वातावरण दिवस मनाइयो । काठमाण्डौंका नवनिवार्चित मेयर बालेन साहको पनि प्रमुख चुनौती फोहोर व्यवस्थापन नै देखिएको छ । तर, यता धरानमा भने काठमाण्डौंको जस्तो सहरबाट उत्पादन भएको फोहोर कहाँ लगेर फाल्ने अथवा व्यवस्थापन गर्ने भन्ने चिन्ता छैन ।

धरानमा गत पुष तेस्रो सातादेखि फोहोर प्रशोधन केन्द्र सञ्चालनमा आइसकेको छ । उक्त केन्द्रले धरानको फोहोरलाई प्रशोधन गरेर बायो ग्याँस उत्पादन गरिरहेको छ । फोहोरबाट उत्पादन भएको उक्त ग्याँसले धरानमा अहिले ६ वटा टेम्पो चलिरहेको छ । पेट्रोलले चल्ने टेम्पोमा किट राखेर ग्याँसबाट चल्ने बनाइएको छ । ग्याँसबाट टेम्पो चलाउदा पेट्रोलले चलाएको बेलाभन्दा बढी पैसा बचत भएको भन्दै चालकहरु खुशी छन् ।

waste-to-energy3

२०४६ सालदेखि धरानमा टेम्पो चलाइरहेका नरेन्द्रकुमार चौधरीले ४ महिनादेखि पेट्रोल छोडेर ग्याँसबाट चलाउन थालेका छन् । पेट्रोल प्रयोग गर्न छोडेयता बचत राम्रो हुन थालेको, आवाज पनि ठुलो नआउने र पेट्रोलको गन्ध पनि नभएको उनी बताउँछन् । ‘प्रदुषण पनि छैन, पेट्रोल चलाउदा जस्तो गन्हाउदैन पनि । ग्याँसबाट चलाउदा माइलेज पनि धेरै दिन्छ, बचत राम्रो भइरहेको छ,’उनले भने । 

पेट्रोल २ लिटर हाल्दा ३६० खर्च हुन्छ भने ग्याँसले दिनभरि टेम्पो चलाउदा पनि २, अढाई सय जति मात्र खर्च हुन्छ । पहिला पेट्रोलले चलाउदा दिनभरिमा १५, १६ सय कमाई हुँदा ६,७ सय उनको पेट्रोलमै सकिन्थ्यो । अहिले ग्याँसले चलाउदा १५ सय कमाई हुँदा ३ सय पनि खर्च नहुने र बचत धेरै हुने उनले बताए । 

waste-to-energy2

अर्का टेम्पो चालक धरान १९ का टंकबहादुर योङहाङले पनि  धरानभित्र १ किलो ग्याँसले ३० किलोमिटर दौडिरहेको बताए । उनले विराटनगर, तराईतिर जादा त झन् ४० किलोमिटरभन्दा बढी माइलेज दिइरहेको सुनाए । धरान उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख भेषराज घिमिरे वातावरण मैत्री सहर बनाउन फोहोरबाट ग्याँस उत्पादन परियोजनाले महत्वपुर्ण भुमिका खेल्ने बताए । उनका अनुसार प्रशोधन केन्द्र सञ्चालनमा आएपछि ८० प्रतिशत फोहोर प्रशोधन हुनेछ । डम्पिङसाइटमा नकुहिने र रिसाइकल नहुने मात्र २० प्रतिशत फोहोर जाने उनको भनाई छ । घिमिरेका अनुसार धरानमा दैनिक ३० टन फोहोर संकलन भइरहेको छ । 

jenas

नेपाल सरकार, धरान उपमहानगरपालिका र भेञ्चर वेष्ट टु इनर्जी प्रालिबीच ४ बर्षअघि सहरी फोहार प्रशोधन गरेर उर्जा निकाल्ने सम्झौता भएको थियो । सोही सम्झौता वमोजिम कम्पनीले धरान ६ पानवारीमा जग्गा खरीद गरेर प्लान्ट निर्माण गरेको हो । हाल डेढ सय वटा टेम्पोलाई पुग्ने ग्याँस उत्पादन भइरहेको प्रालिका निर्देशक जेनेस श्रेष्ठले जानकारी दिए । उनका अनुसार धेरै टेम्पो चालकहरुले इच्छा जाहेर गरेका छन् । परीक्षणमा राम्रो रिजल्ट आएको र सरकार पनि सकरात्मक बनेकोले अब विस्तारै संख्या बढाउदै लैजाने उनले बताए ।

भिडियो: