धरान:आगामी असोज २८ गतेदेखि पोखरामा हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुनसरीका महिला पुरुष बास्केटवल खेलाडी छनौट कार्यक्रम सम्पन्न भएको छ ।
धरान १६ स्थित धरान रंगशालाको कर्भडहलमा मंगलवार सुनसरी खेलकुद विकास समितिका अध्यक्ष दिपक राई, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, प्रदेश १ खेलकुद वोर्डका सदस्य रोशनी राई, पुर्वाञ्चल बास्केटवल मुख्य प्रशिक्षक विकास चाम्लिङ राई र १६ नम्बर वडाअध्यक्ष मुरारी भट्टराईको उपस्थितिमा छनौट कार्यक्रम सम्पन्न भएको हो । छनौट कार्यक्रमा छनौटका लागि सुनसरी भरिका पुरुष तर्फ ३२ जना र महिला तर्फ २१ जना खेलाडिहरुले सहभागिता जनाएका थिए ।
छनौटमा सहभागी खेलाडीहरुलाई चार टिममा विभाजन गरि छनौट खेल खेलाइएको थियो । छनौट कमिटिका प्रशिक्षक विकास चाम्लिङ राई, रन्जित लिम्वु र रोशन राईले छनौट भएका खेलाडीहरुको नाम वुधवार सार्वजनिक गर्ने सुनसरी बास्केटवल संघका अध्यक्ष तथा खेलाडि छनौट कार्यक्रम संयोजक नारायण सुवेदीले जानकारी दिएका छन् ।
९ औ राष्ट्रिय प्रतियोगितामा ३६ वटा खेल प्रतियोगिता हुदैछ । सुनसरीले २५ वटा खेलमा सहभागिता जनाउने कार्यक्रमका प्रमुख अतिथि सुनसरी खेलकुद विकास समितिका अध्यक्ष दिपक राईले जानकारी दिएका छन् । सुनसरीका सम्पुर्ण खेलाडीहरुले अनुशासित भएर खेल्न र धेरै भन्दा धेरै खेलाडीहरु प्रदेश १ टिममा छनौट हुँदै राष्ट्रिय पदक ल्याउन राईले खेलाडीहरुलाई निर्देशन दिदै सफलताको शुभकामना दिएका छन् ।
कार्यक्रमका विशेष अतिथि १६ नं वडाका वडाध्यक्ष मुरारी भट्टराईले राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीहरुको प्रोत्साहनको लागि आफ्नो वडा वाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । उनले आफ्नै वडामा पर्ने रंगशाला र कर्भडहलमा हुने प्रदेश १ खेलाडी छनौट प्रतियोगिताको लागि समेत सहयोग गर्ने बताए ।