धरान: धरानको सहकारी समन्वय समितिले धरान उपमहानगरपालिकामा सहकारी विकास समिति तत्काल गठन गर्न माग गरेको छ । 

समितिले मंगलबार मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघालाई भेटेर यस्तो माग गरेको हो । समितिले दुवै जनासँग समिति गठन गरेर अनुगमन गर्न, खराब सहकारीलाई मात्र नभै सहकारीबाट ऋण लिएर नतिर्ने खराब ऋणी सदस्यहरुलाई पनि कारबाही गर्न माग गरेका छन् । उनीहरुले सहकारी ऐनको दफा ६१ मा भएको व्यवस्था अनुसार ऋण नतिर्ने ऋणी सदस्यहरुलाई कारबाही प्रक्रिया अघि बढाउन पनि माग गरेका छन् ।

sahakari2

धरान नगर सहकारी समन्वय समितिका संयोजक मिशन लामाले सहकारीका निक्षेपकर्ताहरु मात्र नभै ऋण नउठेर सहकारीहरु पनि समस्यामा भएकोले ऋण उठ्ने वातावरण तयार गर्न ऐनमा भएको दफा कार्यान्वयन गरिनुपर्ने बताइन् । दफा ६१ मा ऋण नतिर्ने ऋणी सदस्यहरुबारे सहकारीले जानकारी गराउदा उपमहानगरपालिकाले दिने सेवा, सुविधाबाट बञ्चित गराउनसक्ने प्रावधान रहेको छ । यस्तै, सहकारी विकास समिति पनि चाडै गठन भएर अनुगमन तीब्र बनाउनुपर्ने उनले बताइन् । 

यस्तै, जिल्ला सहकारी संघ सुनसरीका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठले पनि ऐन वमोजिम नियमावली तथा कार्यविधि चाडो बनाउन आग्रह गरे । धरानमा सहकारीहरुप्रति नकरात्मक धारणा बनिरहेको भन्दै अनुगमन तीब्र बनाउन आवश्यक भएको बताए । यसको लागि उनले पनि सहकारी विकास समिति तत्काल गठन गर्न माग गरे ।

sahakari3

आर्थिक विकास शाखा प्रमुख भक्तिराज शर्माका अनुसार विगतमा सहकारी नियमावलीको मस्यौदा तयार गरे पनि विधायन मस्यौदा समितिमा अड्किएको जानकारी दिए । मेयर साम्पाङले अब विधायन मस्यौदा समितिसँगै अन्य समितिहरु पनि चाडो गठन गर्न उपमेयर बेघालाई जिम्मेवारी दिएको बताए । साथै उनले उपमहानगरपालिकामा विवरण नबुझाउने सहकारीहरुलाई ताला लगाइदिने पनि बताए । उपमेयर बेघाले सबैको भावना समेटेर समितिहरु गठन गर्न कसरत भइरहेको जानकारी दिदै चाडै गठन हुने बताए । 

भिडियो: