धरान: धरानको केही सहकारीहरुले निक्षेपकर्ताको रकम हिनामिना गरेको, समयमै रकम फिर्ता नगरेको जस्ता गुनासाहरु लिएर उपमहानगरपालिकामा उजुरी परेको छ । 

सहकारीहरुबारे गुनासा एवं उजुरी परेपछि मेयर तिलक राईले सम्बन्धित सहकारीबारे आवश्यक जानकारी लिएर मात्र सदस्यता लिन र बचत गर्न सर्वसाधारणहरुलाई अपिल गरेका छन् ।मेयर राईले आइतबार एक अपिल जारी गर्दै सहकारी संस्थाहरुले ऐन तथा नियमावलीले गरेको व्यवस्था अनुसारको प्रकृयाहरु पालना नगरेकोलगायत गुनासाहरुले व्यापकता लिइरहेको पनि जनाएका छन् । मेयर राईका अनुसार केही सहकारीहरुबारे निक्षेपकर्ताको रकम हिनामिना हुने गरेको, समयमै रकम फिर्ता नगरेको, जथाभावी कलेक्टरहरुको माध्यमबाट रकम उठाउने कार्य भइरहेको जस्ता गुनासो आएको छ ।

यसैगरि, संस्थाको कार्यालयसमेत नखोली सहकारीहरु सञ्चालनमा रहेको वा बोर्ड मात्र राखेर कार्यालय नै नभएको सहकारीहरु पनि सञ्चालनमा रहेको गुनासो उपमहानगरपालिकामा परेको छ । मेयर राईले यी गुनासा एवं उजुरीहरुबारे समाधान गर्न सम्बन्धित सहकारीहरुलाई पत्राचार भइसकेको पनि अपिलमार्फत जानकारी दिएका छन् । ती संस्थाहरुले समाधान नगरे सहकारी ऐन २०७५ र मौजुदा कानुनी व्यवस्था अनुसार कारबाही गर्ने पनि अपिलमा उल्लेख छ ।

sahakari1