धरान: सामाजिक कार्यमा अग्रसर धराने सचेत समुहले सुनसरी महिला बास्केटवल खेलाडीहरुलाई जर्सी प्रदान गरेको छ ।

यही असोज ६ गतेदेखि सुरु हुन लागेको प्रदेश १ बास्केटवल खेलाडी छनौट प्रतियोगिताको लागि प्रशिक्षणमा रहेका सुनसरी महिला बास्केटवल टिमका १२ खेलाडीहरुलाई समुहले जर्सी प्रदान गरेको हो । उनीहरुलाई सोमबार धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा सचेत धराने समुहका अध्यक्ष निरज लिम्वु, नेपाल पत्रकार महासंघ, सुनसरीका अध्यक्ष जनकऋषि राई र डिपो क्याम्पसका प्रमुख राजकुमार राईले जर्सी हस्तान्तरण गरेका थिए । 

    डा.आशा राईको कप्तानीमा असोज ६ गते सुनसरी जिल्लाका टिमले छनौट प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ। टिममा तनु राई, निरुता राई, सितल तामाङ्ग, रन्जिता लिम्वु इक्सा, सेरिना लिम्वु, संझना राई, आशा लामा, आस्था राई, नुमा लिम्वु, एल्भिना गुरुङ्ग र तनुसा श्रेष्ठ समावेश छन् । छनौट प्रतियोगिताबाट प्रदेश १ टिम तयार गरिने छ । 

sachet1

सचेत धराने समुहले जर्सी संगै प्रतियोगिता स्थल धरान रंगशाला कर्भडहलका लागि दुई थान डस्टविन समेत प्रदान गरेको छ । असोज २८ गते देखि पोखरामा सुरु हुने ९ औ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश १ को विभिन्न जिल्लामा भदौ २९ गते देखि प्रदेश १ का खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ । धरानमा मात्र ६ वटा खेलको प्रदेश १ छनौट प्रतियोगिता भइरहेको छ । धरानमा हुने छनौट प्रतियोगिता मध्ये वुद्धिचाल, साइक्लिङ्ग, गल्फ र कराते खेलको छनौट प्रतियोगिता सम्पन्न भइसकेको छ ।

जुडो खेलको छनौट प्रतियोगिता सोमवार देखि सुरु भएको छ भने वास्केटवल खेलको छनौट प्रतियोगिता ६ गते देखि ८ गते सम्म हुनेछ । जर्सी हस्तान्तरण कार्यक्रममा सुनसरी बास्केटवल संघका कोषाध्यक्ष गौरवमान श्रेष्ठ, प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, प्रशिक्षक रोशन राई, सचेत धराने समुहका प्रवक्ता राम लिम्वु, कोषाध्यक्ष हर्कराज लिम्वु लगायतको उपस्थिति रहेको थियो ।