मंसिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा तर्कबहादुर मगरले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । हर्क साम्पाङ समुह भनेर चिनिएका उम्मेद्वार मगर चुनावी ब्यस्तताको बीचमा पनि श्रमदानको अभियानमा पुग्ने गरेका छन् । पानीको जार चुनाव चिह्न भएका उम्मेद्वार मगर सोमबार धरानको भालुखोला प्रोजेक्ट समापनमा पुगेका थिए । त्यसैबेला उनीसँग गरिएको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ:


प्रश्न: चुनावी ब्यस्ततामा हुनुहुन्छ, तर आज भालुखोलामा आउनु भयो, समय कसरी व्यवस्थापन गरिरहनुभएको छ ?

उत्तर: यो भनेको हाम्रो अभियानको काम हो । श्रमदान भनेको ६ महिना जस्तो भइसक्यो । मेयर साबले चुनाव जितेलगत्तै यस्तो श्रमदानमा लागेका छौं, त्यसले गर्दा हामीले शुरु गरेको काम भएकोले समापन पनि हामी आएर गरौं भनेर आएको हो । 

प्रश्न: चुनावमा होमिनुभएको छ । स्वतन्त्र उम्मेद्वारको पार्टीको जस्तो कार्यकर्ता हुदैन, संगठन हुदैन । आर्थिक व्यवस्थापन कसरी भइरहेको छ ?

उत्तर: आचारसंहिताले दिएपछि खुलमखुला प्रचारप्रसारमा जुटेका छौं । पार्टीको जस्तो कार्यकर्ता हुदैन, आर्थिक सहयोग हुदैन । हाम्रो त्यस्तो केही छैन । आर्थिक सहयोग उठाएको छैन । साथीभाईले जनताको काम गर्ने हो, हेर्नुपर्छ, दिनुपर्छ, उठाउनुपर्छ, भनेर दिनुभयो भने अस्वीकार गर्न मिल्दैन । तर पनि अहिलेसम्म स्वेच्छाले कतैबाट सहयोग भएको छैन, जे छ आफ्नै खर्चबाट भइरहेको छ । पर्चा छाप्नुपर्ने, खाना खाजा खुवाउनुपर्ने, गाडीको इन्धन खर्च गर्नेलगायत काम आफ्नै पकेटबाट भइरहेको छ । 

tarka-magar1

प्रश्न: श्रम अभियानमा जोडिदा गाह्रो कि चुनावी प्रचारप्रसार वा राजनीतिमा होमिदा गाह्रो हुदो रहेछ ?

उत्तर: श्रमदान वा अभियान सामाजिक काम हो । समाजभित्र पर्ने म पनि एक हो, त्यसले गर्दा त्यो मेरो काम हो । त्यो सोचेर लागेको हो । चुनावी अभियान भनेको प्रतिनिधि आधिकारिकरुपमा हरेक काम गर्न अधिकारपुर्ण हुन्छ तर त्यो चुनिएपछि । चुनिनको लागि अभियान त गर्नपर्यो, चुनौतीपुर्ण नै छ । तर गाह्रो मान्नु हुदैन । जति चुनौती हुन्छ, त्यति काम गर्ने हौसला हुन्छ, केही न केही सिकाउछ । 

प्रश्न: चुनावी अभियानमा घरदैलो गर्दै भोट माग्दै गर्दा कस्तो प्रतिक्रिया पाउनुभएको छ?

उत्तर:  हामी त एकदमै खुशी छौं । अहिले पनि बजारतिर घुमेर आएको, झण्डै १०० घरजति प्रचार गर्यौ । कतिपयले तपाईहरुलाई हामी चिन्छौ, आइरहनु पर्दैन । तपाईहरुको पर्चा बाडिदिन्छौं भन्दा भावुक भयौं । धराने जनता सचेत भइसक्नु भएको छ । पार्टीबाट के भयो, के पायो भन्ने कुरा जनताले जवाफ दिनुहुन्छ । उहाँहरुले स्वतन्त्र भनेको तपाईहरु हो, हर्क साम्पाङसँग सामाजिक अभियान चलाउदै आउनुभएको हो, असली स्वतन्त्र तपाईहरु हो भनेर जनताले नै भनिरहनुभएकोछ । कति खुशी लाग्यो ।

प्रश्न: भनेपछि तपाईहरुलाई काम गर्ने मान्छे हो भनेर जनताले चिनिसकेका छन् ?

उत्तर:  हजुर । घरदैलो त गर्ने पर्छ । हामी ठुलो व्यक्ति होइन । पर्दापछाडिको अभियन्ता मात्र हो । हिजोको दिनमा हर्क साम्पांगले चुनाव जित्नुअघि मिडिया पनि जोडिएको थिएन । मिडियाले बाहिर ल्याउन सकेको थिएन । दुःखले आफ्नै मोवाइलले ल्याउथ्यौं, तर काम निरन्तर गर्यौं । हाम्रो एजेण्डा के हो, अभियान कसरी सफल गर्ने भन्ने अभियानमा लाग्यौं, त्यसले गर्दा पनि धेरैले चिनेनन् ।

प्रश्न: मेयर हर्क साम्पाङको श्रम अभियान शुरु भएपछि तर्क मगरको चर्चा शुरु भयो । तपाई हिजो कहाँ हुनुहुन्थ्यो, के गर्नुहुन्थ्यो ? 

उत्तर:  म २०५० सालदेखि विदेशिएको मान्छे हो । म ओमनमा २८ बर्ष सिभिल इञ्जिनियरींगमा काम गरे । आइल्याण्ड ग्याँस फिल्डमा काम गरे । त्यो ज्यादै खतरापुर्ण ठाउाँ हो । ग्याँसको खतरा अलग्गै छ भने त्यसमा हावाहुरी, घाम, तातो, धुलो धेरै हुन्छ । प्राकृतिक ग्याँसहरु हुन्छ, बिषादी ग्याँस हुन्छ । त्यस्तो ठाउँमा बसेर २८ बर्ष काम गरे । २ बर्ष भयो फर्किएको । ओमनमा बस्दा राम्रो पदमा काम गरे । साइट इञ्चार्ज भएर बसे । प्रोजेक्ट डिष्ट्रिब्युर्टस भएर पनि बसे । परदेशमा धेरै लामो बसेको हुनाले घरगाउँमा र परिवारमा पनि केही गरेर बस्नुपर्छ भनेर राजिनामा दिएको मानेनन्, र म जर्बजस्ती गरेर आए ।

tarka-sir

प्रश्न: चुनावमा उठ्छु भनेर कसरी विचार आयो ?

उत्तर: प्रतिनिधिसभाको लागि उठ्छु भन्ने सपना थिएन । तर, सामाजिक काम गर्दै जादा कामले सिकाउदो रहेछ । अभियानको काम गर्दै जादा पुर्णता कहिले पनि नहुने रहेछ । त्यसले के सोचे भने उम्मेद्वारी दिनुपर्छ, जनताको काम खह्रो गर्नुपर्छ । भ्रष्टचार, अनियमितता, बेथितीविरुद्ध बोल्नुपर्छ, काम गर्नुपर्छ । नीति निर्माण गर्ने ठाउँमा पुग्नुपर्छ भन्ने भयो । सही मान्छे अहिलेसम्म निवार्चित भएन भन्ने महशुस भयो, कामले नै मलाई सिकायो र उम्मेद्वारी दिन्छु भन्ने भयो । विजयी भए भने जनताको सेवा गर्न तयार छुँ । जसरी हर्क सरले काम गर्नुभएको छ, म पनि त्यसरी नै समर्पित हुनेछ ।

प्रश्न: तपाईले मतदाताको घरदैलोमा जादा के एजेण्डा लिएर गइरहनुभएको छ ?

उत्तर: रामधुनी बराहक्षेत्र तिर जादा सबैभन्दा ठुलो समस्या भनेको बाटो रहेछ । सुत्केरी लिएर आउदा बाटो अफ्ठेरोले बीचैमा नानी जन्मिने कुरा, विरामी ल्याउदा धेरै समस्या हुने रहेछ । ती बाटो निर्माणलाई एजेण्डामा राखेका छौ । शिक्षा, स्वास्थ्य र खानेपानीलाई पनि प्राथमिकतामा राखेका छौ । मेयर हर्क साम्पाङले कोशीको पानी ल्याउने भन्नुभएको छ, त्यो प्रोजेक्टमा साथ दिएर दीर्घकालिन खानेपानी समस्या समाधानमा पहल गर्नेछौं । किसानलाई सिचाईको पनि व्यवस्था गर्नेछौं ।

वीपी प्रतिष्ठानको सुधार गर्ने पनि हाम्रो एजेण्डा छ । एमआरआई मेशिन छैन, अल्ट्रासाउण्डको मेशिन ९, १० वटा हुनुपर्ने त्यो पनि छैन । एक्स रे मेशिन विभिन्न मेशिनहरु बिग्रिरहने गर्छ । सेवाग्राहीहरु काठमाण्डांै, विराटनगर जानुपर्छ । यति ठुलो अस्पताल छ तर उपचार सेवा पाइदैन, त्यसप्रति मेरो चिन्ता छ । व्यवस्थापन राम्रो चलाउने र सेवामुलक हुनुपर्छ । सकभर स्थानीय सरकारको मातहतमा वीपीलाई ल्याउनुपर्छ । 

शिक्षाबारे संविधानमा राम्रो लेखिएपनि व्यवहारमा छैन । अहिलेको शिक्षामा प्राविधिक ज्ञान दिने हुनुपर्छ । नत्र १२ कक्षा पढेको विद्यार्थी सक्षम हुदैन, योग्य हुदैन । कक्षा १२ पढेका विद्यार्थीले कही कतै गएर जिविकोपार्जन गर्न सकोस्, आत्मनिर्भर हुनसकोस् । धनी, गरिब सबैका छोराछोरीले समान खालको शिक्षा पाउनुपर्छ । निजी वा सरकारी सबै विद्यालयमा समानरुपले शिक्षा हासिल गर्न पाउनुपर्छ । शिक्षमा परिवर्तनमा ल्याउने एजेण्डा छ । 

खेलकुदलाई राष्ट्रियकरण गर्न पहल गरेको छैन । धरानलाई चिनाउने माध्यम हुन्छ खेलकुद । साहसिक खेलकुद छ । खेलकुद र पर्यटनको केन्द्र बनाउने योजना छ । उद्योग, कलकारखाना स्थापना हुदा रोजगार मिल्छ, आर्थिकरुपमा सक्षम हुन्छ, र सुख आउछ । 

प्रश्न: तपाई आफ्नो जित हुनेमा कति विश्वस्त हुनुहुन्छ ?

उत्तर: म एकदमै विश्वस्त छुँ । म सर्वे गर्दे हिड्दा मेरो जित सुनिश्चित छ । जनता सचेत छन्, नाम हेर्दैन, पार्टी हेर्दैन, काम हेर्ने हो । मेरो अनुहार पनि हेर्ने होइन जनताले, मेरो काम हेर्ने हो । मतदाताले तपाईलाई हामी चिन्छौ, तपाईको कामलाई चिन्छौ, तपाई र तपाईको टिमलाई भोट दिने हो भन्नुभएको छ, जित हुनेमा ढुक्क छुँ । 

भिडियो: