धरान: कोरोना महामारीको कारण २ बर्ष रोकिएको ललित-अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियनसिप यसबर्षदेखि आयोजना हुने भएको छ । 

आयोजक डिपो माविले बुधबार पत्रकार सम्मेलन गर्दै आगामी मंसिर ९ गतेदेखि १६ गतेसम्म १७ औं डिपो कप तथा प्लेट च्याम्पियनसिप आयोजना हुने जानकारी दिएको हो । २०६२ सालदेखि शुरु भएको डिपो कप २०७६ सालसम्म १६ औं सँस्करण नियमितरुपमा आयोजना भएको थियो । २०७७ र ०७८ सालमा भने कोभिड १९ महामारीको कारण प्रतियोगिता हुन सकेको थिएन । 

प्रतियोगितामा कक्षा ५ सम्मका विद्यार्थीहरु मात्र सहभागी हुन पाउनेछन् । साना उमेरका विद्यार्थीहरुलाई खेलप्रति आकर्षित गराउन र उनीहरुमा निहित खेल प्रतिभा उजागर गर्न प्रतियोगिता आयोजना गरिएको डिपो स्कुलका प्राचार्य राजकुमार राईले जानकारी दिए । प्रतियोगितामा सबैभन्दा पहिला नाम दर्ता गर्ने १६ वटा विद्यालयहरुलाई मात्र सहभागी गराइदै आएको छ । पहिलो खेलमा नै पराजित हुने विद्यालयले प्लेट च्याम्पियनसिपमा सहभागी हुने अवसर पाउनेछन् । 

depo

डिपो कपको विजेताले रनिङ शिल्डसँगै नगद १० हजार प्राप्त गर्नेछ भने उपविजेताले नगद ५ हजार, शिल्ड प्राप्त गर्नेछ । यस्तै, तेस्रो हुने विद्यालयले नगद ३ हजार र शिल्ड पाउनेछ । यस्तै, प्लेट च्याम्पियनसिपतर्फ प्रथम हुने विद्यालयले नगद ३ हजार र रनिङ शिल्ड प्राप्त गर्नेछ भने उपविजेताले नगद २ हजार र प्रमाणपत्र पाउनेछ । 

प्रतियोगिता आयोजनाको लागि कुल ४ लाख ३२ हजार ७२९ रुपैया खर्च हुने अनुमान गरिएको छ । यसअघि १७ औं सँस्करणमा नेपाल प्रहरी विजेता र एक्वा डायनेष्टी स्कुल धरान १७ उपविजेता भएको थियो भने आयोजक डिपो मावि तेस्रो भएको थियो । यस्तै, प्लेट च्याम्पियनसिपतर्फ इमान्युयल स्कुल धरान १७ विजेता र मेरील्याण्ड स्कुल धरान १० उपविजेता भएको थियो । 

भिडियो :