धरान: हिसान स्पोर्टस मिट २०७९ अन्तर्गत यही मंसिर २२ गतेदेखि हिसान महिला पुरुष बास्केटवल प्रतियोगिता हुने भएको छ ।
प्लस टु विद्यालयको शैक्षिक संस्था हिसान सुनसरीको आयोजनामा हरेक वर्ष हुने स्पोर्टस मिट अन्तर्गत बास्केटवल प्रतियोगिता हुन लागेको हो । बास्केटवल प्रतियोगितामा सुनसरी भरिका प्लस टु विद्यालयका महिला र पुरुष टिमले सहभागिता जनाउनेछ । पुरुषतर्फ १० र महिलातर्फ ८ टिमले सहभागिता जनाउने हिसान बास्केटवलका संयोजक अर्जुन घिमिरेले जानकारी दिए ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरु ०७८ र ०७९ सालको एसइइ व्याचको हुन पर्नेछ । प्रतियोगिता धरान १२ स्थित धरान मेघा हिमालयन कलेजको बास्केटवल कोर्टमा हुने संयोजक घिमिरेले बताए । प्रतियोगितामा हिसान स्पोर्टस मिट अन्तर्गत ११ विद्यामा विभिन्न प्रतियोगियात्मक कार्यकम हुदैछ । मिट अन्तर्गत चेस र वक्तित्वकला सकिएको छ भने बास्केटवल, भलिवल, क्रिकेट, टेवलटेनिस, व्याडमिन्टन, फुटवल, नृत्य, क्विज कन्टेस्ट र कविता वाचन प्रतियोगिता हुन बाँकी छ ।