धरान: आगामी चैत ३ र ४ गते धरानमा चौथो मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ ।

 आयोजक एलाइनेट जिमले आज (मंगलबार) धरान १८ बुद्धचोकस्थित एमसि क्याफेमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत्र ३ र ४ गते आयोजना गर्ने जानकारी दिएको हो । प्रतियोगितामा साविकको कोशी अञ्चलका जिल्लाहरुबाट करिव ५० जना खेलाडीहरु सहभागी हुने आयोजक संस्थाका अध्यक्ष बिक्रम लिम्बुले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद एक लाख १० हजार पाउनेछन् भने दोस्रोले नगद ५० हजार, तेस्रोले ४० हजार, चौथोले ३० हजार, पाचौले २० हजार र छैठौले १० हजार नगद, ट्रफि, मेडल र पाउनेछन् । 

यसैगरि व्यक्तिगत विद्यातर्फ वेस्ट पोजर, मोस्ट इम्प्रुभमेन्ट बडी र मस्कुलर मेनको उपाधि विजेतालाई पनि जनही नगद ५ हजार, ट्रपिm, मेडल र प्रमाणपत्र दिइनेछ । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ८० केजी तौल समुहबाट खेलाडीहरु सहभागी हुनेछन् । पहिलो दिन चैत्र ३ गते प्रतियोगिताको प्रि–जजिङ्ग राउण्ड हुनेछ । प्रि–जजिङ्ग मार्फत प्रत्येक तौल समुहवाट ६ जना खेलाडी फाइनल राउण्डको लागि छनौट हुनेछन् ।

चैत ४ गते फाइनल राउण्डमा एक तौल समुहबाट ६ जना गरि कुल ३६ जना खेलाडी भिड्नेछन् । प्रत्येक तौल समुहको स्पर्धामा प्रथम हुने खेलाडी उपाधिको लागि ओभरअल राउण्ड भिड्न पाउनेछन् । ओभरअल राउण्डमा प्रथम हुनेले उपाधि ट्रफीसहित नगद १ लाख १ हजार हात पार्नेछन् । चौथो मिस्टर कोशी एलाइनेट जिमको २० औं प्रस्तुती हो । यसअघि एलाइनेटले चार वटा राष्ट्रिय, ७ वटा मिस्टर पूर्वाञ्चल, ३ वटा मिस्टर कोशी, ४ वटा मिस्टर धरान र १ वेन्चप्रेस च्याम्पियशिप आयोजना गरिसकेको छ । 

एलाइनेट जिमका अध्यक्ष लिम्बुका अनुसार यसअघि २०६५, २०६६ र २०६७ सालमा मिस्टर कोशीको आयोजना भएको थियो । ०६५ र ०६६ मा उर्लाबारीका विकास धिमाल विजेता भएका थिए भने २०६७ मा धरानका मिलन चाम्लिङले उपाधि जितेका थिए । प्रतियोगिता धरान ८ स्थित धरान सभागृहमा हुनेछ । 

भिडियो: