धरान: २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपको क्वार्टरफाइनल खेलको समिकरण पुरा भएको छ । 

शुक्रबारको खेलहरु सकिएसँगै क्वाटरफाइनल समिकरण पुरा भएको हो । धरान १६ स्थित रंगशालमा जारी गोधुली रनिङ कपमा वडा १, ५, १५, ११, १६, १४, २० र १७ क्वाटर फाइनलमा प्रवेश गरेका छन् । यी टोलीले धरान उपमहानगरपालिकाले आयोजना गर्ने सुपर ८ लिग समेत खेल्नेछन् । 

शुक्रबार पहिलो खेलमा वडा १५ ले वडा १२ लाई ३–० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । अब क्वार्टरफाइनलमा वडा १५ ले वडा ११ को सामना गर्नेछ । वडा १५ को जितमा प्रयाग देवान, सुगम जिमी र शुभम कार्कीले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच वडा १५ का सुगम जिमी घोषित भए । उनलाई नगद १५ सय र ट्रफि पुरस्कार प्रदान गरिएको थियो ।


यस्तै, दोस्रो खेलमा वडा २० ले वडा १९ लाई ३–० ले पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरेको छ । निर्धारित ८० मिनेटको खेल बराबरी भएपछि थप गरिएको समयमा वडा २० ले ३ गोल गरेको थियो । गौरब राईले २ गोल गरे भने मनोज राईले एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच गौरब राई घोषित भए । उनलाई नगद १५ सय र ट्रफि पुरस्कार प्रदान गरिएको थियो । शनिबार पहिलो क्वाटर फाइनल खेल वडा १ र वडा ५ बीच हुने आयोजक गोधुली क्लबले जानकारी दिएको छ ।