धरान: बराह कम्पनीले आफ्ना ग्राहकहरुले धितो राखेको सुन प्राइम कर्मसियल बैंकले लिलामी गर्न सुचना निकालेको भन्दै उक्त बैंकमा रहेको खाता फुकुवाको सिफारिश गरिदिन धरान उपमहानगरपालिकासँग आग्रह गरेको छ । 

बराहका सञ्चालक मानबहादुर विश्वकर्माले शनिबार उपमहानगरपालिका कार्यालयमा मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघासहित वडाअध्यक्षसमेतलाई भेटेर यस्तो आग्रह गरेका हुन् । बिहान ८ बजे बसेको कार्यपालिका बैठक सकिएपछि मेयरको कार्यकक्षमा विश्वकर्माले भेट गरेका थिए । उनले आफ्ना ग्राहकहरुको सम्पत्ति लिलाम हुनबाट जोगाउनको लागी मात्र उक्त बैंकमा भएको खाता फुकुवा गरिदिन उपमहानगरलाई आग्रह गरेका थिए । विश्वकर्माले उक्त बैंकमा आफुले सुन लगेर जम्मा गरेको र आफ्नो खातामार्फत कारोबार गरेकोले सोही खाता मात्र फुकुवा गरिदिए बराहका ग्राहकरुको सम्पत्ति लिलाम हुनबाट जोगिने पनि बताए । 

सञ्चालक विश्वकर्माका अनुसार ग्राहकहरु आफैले पैसा तिरेर सुन निकालेर लैजाने भएका छन् । बैंकबाट सुन निकाल्न ग्राहकहरुले तिरेको पैसा बराहले दायित्व लिने समझदारी भएको पनि उनले जानकारी दिए । ‘यो खाता फुकुवा भयो भने थुप्रै जनताको सम्पत्ति लिलामी हुनबाट जोगिन्छ, उहाँहरु आफैले नै पैसा तिरेर अहिले सुन निकाल्नुहुनेछ । हामी त्यसको दायित्व वहन गर्नेछौं,’उनले भने ।

भिडियो: 

बराहले प्राइम कर्मसियल बैंकमा ६ हजार ६ सय ८४ ग्राम सुन धितो राखेर पैसा निकालेको छ । सञ्चालक विश्वकर्माका अनुसार ४ करोड ८ लाख रुपैया बराहले पैसा लिएको हो । अहिले साँवा र ब्याज सहित ४ करोड ७७ लाख पुगेको पनि उनले बताए । पछिल्लो समय संकटमा परेको बराहले ब्याज पनि तिर्न नसकेपछि बैंकले  माघ ५ गते सुन लिलामीको सुचना प्रकाशन गरेको थियो । बैंकले १५ दिनको सुचना जारी गरेको कारण ग्राहकहरुको सम्पत्ति जोगाउन भन्दै बराह सञ्चालकहरु उपमहानगरलाई खाता फुकुवाको सिफारिश गर्न पुगेका हुन् । बराह पीडित संघर्ष समितिको आग्रहमा उपमहानगरले सिफारिश गरेपछि बराह तथा सञ्चालकहरुको सम्पुर्ण सम्पत्ति, खाताहरु रोक्का गरिएको छ ।

मेयर साम्पाङ जनताको सम्पत्ति लिलामी हुनबाट जोगाउन प्राइम बैंकमा रहेको मानबहादुर विश्वकर्माको मात्र खाता खोल्नुपर्ने देखिएको बताए । विश्वकर्माले सुनको पोको लगेर राखेको र पैसा पनि उनीमार्फत नै करोबार भएकोले उक्त बैंक खाता फुकुवा गर्न उचित देखिएको मेयर साम्पाङले बताए । यद्यपी, कसैको दाबी विरोध भए तत्काल सम्पर्कमा आउन पनि उनले आग्रह गरेका छन् । उपमेयर बेघाले पनि बराहसँगै आम जनताको सम्पत्ति नडुबोस् भन्नेमा आफुहरु चिन्तित रहेको बताए । वडा नं २ का अध्यक्ष रमेश राईले पनि बराहलाई जोगाउन सके मात्र आम धरानबासीको सम्पत्ति जोगिने र अर्थतन्त्र चलायमान हुने बताए । 

भिडियो: