धरान: धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले अभिभावकत्व भुमिका निर्वाह गरि धरानको समस्या समाधान गर्न मेयर हर्क साम्पाङलाई आग्रह गरेका छन् ।

उपमेयर बेघाले आज प्रेस विज्ञप्ती जारी गर्दै वार्ता, संवाद र सहमतिको माध्यमबाट सबै खालको समस्याहरुको समाधान गर्दै अघि बढ्नुपर्ने देखिएको पनि बताएका छन् । मेयर र वडाअध्यक्षहरुको विवादबाट उत्पन्न असमझदारीका कारण धरान अनिर्णयको बन्दी बनेको उल्लेख गर्दै बेघाले विभिन्न बहानामा एकपछि अर्को द्धन्द र समस्या बढ्दै गइरहेकोमा चिन्ता पनि प्रकट गरेका छन् । उनले यस्तो अवस्थामा नगर प्रमुखले अभिभावकत्व भुमिका निर्वाह गरि वार्ता, संवाद र सहमतिको माध्यमबाट सबै खालको समस्या समाधान गर्दै अगाडि बढ्नुपर्ने देखिएको पनि उल्लेख गरेका छन् ।

उपमेयर बेघाले वडाअध्यक्षहरुले राखेको जायज मागलाई सम्बोधन गरि कार्यपालिका बैठक तुरुन्त राख्न पहल गर्न उपमेयर बेघालाई आग्रह गरेका छन् । यसमा ढिलाई भए परिस्थिति थप जटिल हुने पनि बेघाको भनाई छ । सोमबार धरान १७ को वडा कार्यालयमा भएको घटना खेदजनक र दुःखद भएको उल्लेख गर्दै उपमेयर बेघाले यस्ता घटनाहरुले कसैको हित नगर्ने र धरानको परिस्थितिमा यस्ता घटनाहरुमा संलग्नलाई कानुनी कारबाही गरी निरुत्साहित गर्नुपर्ने पनि उनले उल्लेख गरेका छन् । ‘समग्र धरानको विकास र समृद्धिका लागि सर्ब जनाको एकता र सहकार्य जरुरी रहेकोले सबैको भुमिकालाई जोड्दै हालको असहज परिस्थितिलाई व्यवस्थापन गरि निकास दिन नगर प्रमुख ज्युलाई अनुरोध गर्दछुँ,’विज्ञप्तीमा भनिएको छ । 

begha copy