धरान: तीन हप्तादेखि जारी आठौं वास्केटवल ट्यालेण्ट हण्ट तथा ट्रेनिङ क्याम्प आज (शनिवार) सम्पन्न भएको छ । 
धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटबल संघको प्राबिधिक तथा धरान उपमहानगरपालिकाको संयोजनमा वैशाख ९ गतेदेखि क्याम्प शुरु भएको थियो । धरान उपमहानगरपालिकाका उप–मेयर आइन्द्र विक्रम वेघाको प्रमुख आतिथ्यतामा क्याम्पको समापन भएको हो ।
२०७९ सालमा एसइइ दिएर बसेका विद्यार्थी तथा बास्केटबल खेल्न इच्छुकहरुलाई लक्षित गरेर आयोजित ट्यालेन्ट हन्टमा धरानभरिका विभिन्न स्कुल तथा कलेजबाट ६० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । ट्रेनिङमा सहभागी प्रशिक्षार्थीलाई कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, प्रमुख अतिथि उपमेयर वेघा, बिशेष अतिथि धरान उपमहानगरपालिका सामाजिक बिकास समिति संयोजक सृजना नेपाल लगायत अतिथीहरुले प्रमाण पत्र र टि–सर्ट प्रदान गरेका थिए । विद्यार्थी खेलाडिहरुका लागि धरान मेघा हिमालयन कलेजले टि सर्ट उपलब्ध गराएको आयोजकले जनाएको छ ।

समापन कार्यक्रमलाई सम्वोधन गर्दै उप–मेयर वेघाले धरानको समग्र खेलकुदको विकास एकिकृत ढंगले नभएको भन्दै आगामी दिनमा समग्र खेल विकासको लागि न्यायोचित र एकिकृत ढंगले योजना वनाएर अघि बढ्नु पर्ने बताए । उनले भने, ‘खेलकुदको विधा र यसको क्षेत्राधिकार वृहत छ, समग्र खेलको विकासमा सहयोग र न्यायचित व्यबहारले मात्रै धरानको खेलकुद क्षेत्र माथि उठ्न सक्छ। 
ट्यालेन्ट हन्टमा सहभागी उत्कृष्ट विद्यार्थीहरुलाई इच्छा अनुसार धरानको विभिन्न कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी दिए । प्रशिक्षक राईका अनुसार एक हप्ताभित्र नै सहभागी खेलाडीहरु बीच प्रतियोगितात्मक खेल पनि हुनेछ । समापन कार्यक्रममा १६ नम्बर वडाका वडाध्यक्ष मुरारी भट्टराई, धरान मेघा कलेजका प्राचार्य भाष्करण पौडेल, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकॠषि राईलगायत पनि अतिथि रहेका थिए ।

हरेक वर्ष संघ मार्फत वास्केटवल ट्रेनिङ क्याम्पका उत्कृष्ट प्रशिक्षार्थीलाई छात्रवृति सहितको व्यवस्था गर्दै आएको छ । विद्यालयहरुसँग संघले समन्वय गरेर जेहेन्दार र बास्केटवलमा रुचि राख्ने विद्यार्थीहरुलाई छात्रवृत्ति व्यवस्था गदैं आइरहेको छ । हालसम्म ८ औं ट्यालेन्ट हन्टको संस्करणमा आइपुग्दा करिब एक हजार विद्यार्थी खेलाडीहरु प्रशिक्षित भएका छन् । धरानका विभिन्न विद्यालय र कलेजहरुमा एक सय भन्दा बढी खेलाडीहरु निःशुल्क छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाइसकेका छन् ।
सहभागीहरुलाई राष्ट्रिय प्रशिक्षक विकाश चाम्लिङ राई, प्रदेश १ बास्केटबल टिम क्याप्टेन बिबेक श्रेष्ठ, राष्ट्रिय खेलाडी डा.आशा राई, युगल लिम्बू, दिवस राई, सुसन श्रेष्ठ, आस्था राई, तनु राई, सितल तामाङ, एल्भिना गुरुङ, समीर राइ, चिरञ्जीवी गिरि लगायतले नियमित प्रशिक्षण दिएका थिए । संघले विगत १२ बर्षदेखि प्रशिक्षण दिदैं आएको छ । राष्ट्रिय खेलाडी तथा १३ औं सागको सिल्भर मेडल विजेता डा। आशा राई, हेमन्त राई, राष्टिय खेलाडी बैभव योगी, रबि बास्फोर, तनु राई, सीतल तामाङ, लियालिसा श्रेष्ठ, विवेक श्रेष्ठ, कबिन मगर लगायत यही प्रशिक्षणबाट उत्पादन भएका खेलाडीहरु हुन् । उनीहरु जिल्ला, प्रदेश र राष्ट्रिय टिमबाट खेलिरहेका छन् । ट्यालेन्ट हन्ट क्याम्प धरान १६ स्थित धरान रंगशालामा रहेको इन्डोर बास्केटबल कोर्टमा सम्पन्न भएको थियो ।




                    
		
                                        
                                                                                                
		


		
		
		
		



