धरान: बिशेष प्रहरी, सिआइडी हुँ भन्दै धाकधम्की दिएको निवेदनको आधारमा धरान १५ का तीर्थबहादुर गुरुङ पक्राउ परेका छन् ।

उनलाई निवेदनकहरुले नै आज शनिबार साँझ धरान २० स्थित ओशो पार्क क्षेत्रबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । गुरुङ मेयर हर्क साम्पाङको कोकाहा खानेपानी श्रमदान अभियानमा निरन्तर खटिइरहेका व्यक्ति पनि हुन् । नियन्त्रणमा लिदा उनी कोकाहा अभियानका मेनेजर दत्तकुमार लिम्बुसँगै भएको पनि निवेदक मध्येका एक मोहित पुन मगरले जानकारी दिए । 

पक्राउ परेका गुरुङविरुद्ध करिब २ महिना अघि नै प्रहरीमा ठाडो निवेदन दिएको पनि मगरले जानकारी दिए । ‘मैले ब्राउन सुगर खान्छ, बेच्छ भनेर मेरो गाडीमा ब्राउन सुगर राखेर फसाउनुपर्छ भन्दै अरुसँग फोनमा कुरा गरेको रेकर्ड पाए । मलाई मानसिक तनाव पनि भयो, र निवेदन दिएको थिएँ,’उनले भने,‘आज ओशो पार्कमा भेटेर नियन्त्रणमा लियौं, र प्रहरीमा बुझायौं । यसले दुनियालाई ठग्ने, धम्क्याउने क्रियाकलप गर्ने गरेको रहेछ ।’

आफ्ना साथीहरुको पनि नाम लिएर ड्रग्स ल्याएर बेच्ने गरेको र भन्दै हाल प्रहरी नियन्त्रणमा रहेको गुरुङले आफु चै सिआइडी हो, गोली ठोक्छु पनि भनेको ९ मिनेट १६ सेकेण्डको कल रेकर्ड आफुसँग सुरक्षित रहेको मगरले बताए । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले भने हाल सामाजिक सञ्जालमा अनधिकृतरुपमा पोष्ट गरेको आरोपसहित निवेदन परेको आधारमा निवेदकहरुले नै नियन्त्रणमा लिएर बुझाएको बताए । पक्राउ परेका गुरुङको साथबाट सुचना विभागबाट जारी भएको प्रेस पास पनि रहेको र त्यसबारेमा पनि अनुसन्धान गरिने डिएसपी मल्लले बताए । ‘म पत्रकार हुँद भनेर ठगी गरेको पनि सुनिएको छ । ठगीमा परेका मान्छे आएर निवेदन दिएभने त्यसमा पनि मुद्दा चल्छ,’उनले भने,‘अहिले साइबर कानुनको बिषयमा नियन्त्रणमा लिएको हो ।’